गएराति रौतहटको छुट्टाछुटै स्थानमा भएको आगलागीमा करिब दुई करोड बराबरको धनमाल क्षति भएको छ।
बैधिमाइ नगरपालिका-५ कोपुवामा भएको आगलागीमा एक करोड ७६ लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीनतल्लाको पक्की घरमा आगलागी भएको हो। घरको अन्डरग्राउण्ड गोदाममा विद्युतको तार सर्ट हुँदा आगलागी भएको रौतहटका प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए।
उनका अनुसार अन्डरग्राउण्ड गोदाममा रहेका कपडा र चप्पललगायत गरी एक करोडको क्षती पुगेको छ। एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षती पुगेको उनले बताए। सुरक्षाकर्मी, स्थानियवासी र गौर तथा बैधिमाइ नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक प्रसादले बताए।
यसैगरी गौर नगरपालिका-४ कबिरचोकमा रहेको कृष्णन्नद पटेलको कच्चीघरमा आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको छ। घरमा रहेको मोटरसाइकल वर्कसपमा रहेको ५ थान मोटरसाइकल, वर्कसपमा रहेका टायर, मोबिल, हावाभर्ने मेसिनमा क्षति भएको छ।
घरमा रहेको खाजा पसलमा पनि आगलागीबाट क्षती पुगेको छ। घर, वर्कसप र खाजा पसल गरी २१ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।
दुवै आगलागीका घटनामा मानवीय क्षति भने नभएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ।