शिक्षकहरू अझै सडकमै, सरकार ‘छलफल’मै

सरकार र शिक्षकहरूबीच अझै सहमति जुट्न सकेको छैन। पटक पटक सरकारले बोलाएपछि शिक्षक महासंघका प्रतिनिधिहरू बिहीबारदेखि सरकारी प्रतिनिधिहरूसँग छलफलमा सामेल भएका हुन्। 

देशभरिका विद्यालयमा शैक्षिक हड्ताल घोषणा गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका सरकारी शिक्षकहरूले दिनहुँजसो माइतीघर-वानेश्वर सडकमा प्रदर्शन गर्दै आएका छन्। 

उनीहरूले सरकारसँग छलफल गर्दैमा आन्दोलन नरोकिने र ऐन जारी नभएसम्म त्यो निरन्तर रहने पनि बताएका छन्। 

सरकार तथा संसदीय समिति भने शिक्षा ऐनका विषयमा थाँती रहेका विषयलाई दफावार छलफल गरेर चाँडो टुङ्ग्याउने तयारी गरिरहेको छ। शिक्षकका मागहरूलाई आगामी बजेटबाट पनि सम्बोधन गर्ने भन्दै आज मन्त्रालयका पदाधिकारीहरूसँग शिक्षकले छलफल गर्दैछन्। 

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयहरूमा नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन्। वार्षिक परीक्षाका नजिता प्रकाशन गरेर वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्नुपर्ने विद्यालयहरू आन्दोलनकै कारण बन्द अवस्थामा छन्। नतिजासमेत प्रकाशन हुन सकेको छैन। 

त्यस्तै आन्दोलनका कारण एईईका उत्तरपुस्तिका पनि जाँच हुन सकेको छैन। शिक्षा ऐन जारी गर्न माग गर्दै गत फागुन अन्तिमतिर शिक्षकहरूले काठमाडौंमा आन्दोलन सुरु गरेका थिए। 
 

प्रकाशित मिति: : 2025-04-13 10:05:00

प्रतिकृया दिनुहोस्