महिनादिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका सरकारी शिक्षकहरूको आन्दोलन बारे लण्डनमा चर्चा भएको छ।
त्यहाँ भइरहेको इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस् फेडेरेशनको चालु विश्व कार्य समितिको बैठकमा यहाँका शिक्षकहरुको आन्दोलनबारे कुरा उठेको हो।
नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने कार्य समिति सदस्य तथा ट्रेड युनियन कंग्रेसका महासचिव अजयकुमार राईले नेपालभरका शिक्षकहरूले काठमाडौंमा गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकारले ढिला गरेकोप्रति आपत्ति जनाएका हुन्।
गत वर्ष विद्यालय शिक्षा ऐन ल्याउनेलगायतका विभिन्न मुद्दामा भएको सम्झौता सरकारले कार्यान्वयन नगर्नाले शिक्षकहरुले पुनः सडक आन्दोलनमा उत्रिदा विश्व समूदायमा नकरात्मक सन्देश गएको जिकिर गरे।
उनले राज्य, राजनीतिक दलका केही नेताहरु श्रमिकहरुप्रति अनुदार रहेको औंल्याए। उनले हालै फागुन १ गते सर्वोच्च अदालतको बैंक वित्तिय संस्थाहरुमा अबबाट श्रम ऐन प्रभावित नहुने कुराले सार्वजनिक क्षेत्रको युनियन आन्दोलन समस्यामा पर्ने तथा हजारौको संख्यामा शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको बैठकमा जानकारी गराएका हुन्।
जसमा एजुकेशन ईन्टरनेशनललगायत नेपालका सबैजसो युनियनहरुले ऐक्यबद्धता जनाईसकेको अवस्थामा सरकार गम्भीर नभएकाले श्रमिक आन्दोलनप्रति राज्यको दृष्टिकोण सकारात्मक नदेखिएको बताएका हुन्।
राईले नेपालका मुद्दाहरुबारे जानकारी गराउँदै आवश्यक सहयोगको अपिल समेत गरे। नेपालका मुद्दा उठाएलगत्तै फेडेरेशनका अध्यक्ष पेडडी कु्रमलिनले नेपालको श्रमिक आन्दोलन समस्यामा परेका जानकारी गराएकोमा धन्यबाद दिए। सो क्रममा नेपाली श्रमिक, शिक्षक तथा फाइनान्स क्षेत्रका श्रमिकहरुप्रति आइटीएफको सदभाव तथा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।