मेडिकल व्यवसायी दुर्गा प्रसाईं र बडिगार्ड दिपक खड्कालाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनका उनी कमान्डर हुन्।
उनै नेतृत्वमा प्रदर्शनकारीहरूले सरकारी भवन जडीबुटी कम्पनीदेखि व्यक्ति सम्पति समेत पनि क्षति पुर्याएका थिए।
तर उनी भने भीडलाई उत्तेजित बनाएर प्रहरीकै घेराबाट भागेका थिए। साेहीक्रममा एकजना प्रदर्शनकारीको मृत्यु भएको भएको छ भने एकजना पत्रकारलाई जलाएर मारेका छन्।
प्रहरीले उनीमाथि मानवहत्याको आरोपमा मुद्दा लगाउन खोजिरहेको थियो।
प्रसाईंले यो बीचमा दुईपटक भिडिओ जारी गरेर आफू भारत नगएको र नेपालमै कतै ज्यान जोगाएर बसेको बताउँदै आएका थिए।
तर उनी बिहिबार मात्रै भारतकाे आसामबाट पक्राउ परेका थिए। आसाम प्रहरीले उनलाई पूर्वी नाका काँकडभिट्टामा नेपाल प्रहरीलाई बुझाएकाे थियाे।
प्रसाईंलाई शुक्रबार बुद्ध एयरको जहाजबाट भद्रपुरबाट काठमाडौँ ल्याइएकाे थियाे।
000
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएका बताएका छन्।
शुक्रबार एमालेको रुपन्देही जिल्ला कमिटीले बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले एमालेलाई विभाजन गर्न खाेज्नेहरू असफल भएको टिप्पणी गरेका हुन्।
एमालेले लिएको समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने उनकाे भनाइ थियाे।
000
गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शन आपराधिक घटना भएको बताएका छन्।
शुक्रबार कानुन,न्याय तथा मानवअधिकार समितिकाे बैठकमा बाेल्दै उनले राजावादी प्रदर्शन आपराधिक घटना भएको बताएका हुन।
तीनकुने घटना अत्यन्त आपराधिक प्रकृतिको भएको बताउँदै आगामी दिनमा यस्ता घटना हुन नदिन सरकार चनाखो भएकाे उनकाे भनाइ थियाे।
000
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
शुक्रबार रवि पत्नी निकिता पौडेल आफैं पुगेर रिट दर्ता गरेकी हुन्।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।
यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो।
000
अमेरिका र चीनले एकअर्काविरुद्ध कर बढाउँदै जवाफ फर्काइरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको यो ‘कर युद्ध’मा चीनले पनि एकपछि अर्को जवाफ दिइरहेको छ।
अमेरिकाले एक सातामै तीनपटक कर वृद्धि गरेर अमेरिका भित्रिने चिनियाँ सामग्रीमाथि १ सय४५ प्रतिशत भन्सार कर पुर्याइदिएका छन्।
चीनले भने दोस्रोपटक अमेरिकी सामग्रीमाथि कर थपिदिएको छ। यसअघि चीनले ८४ प्रतिशत पुर्याएको थियो। त्यसलाई बढाएर चीन भित्रिने अमेरिकी सामानमाथि १ सय २५ प्रतिशत पुर्याएको हो।
योबीचमा चीनले अमेरिका सामु कहिल्यै नझुक्ने र अन्तिम अवस्थासम्म लड्ने चेतावनीपूर्ण जवाफ दिएको छ भने ट्रम्पले चीनका राष्ट्रपति सी चीन फिङको फोन कल कुरिरहेका छन्। तर उनले चीनमाथि भन्सार कर बढाउन भने छोडेका छैनन्।
यसबीचमा स्पेन भ्रमणमा रहेका सीले व्यापार युद्धमा चीनले कहिल्यै नहार्ने र बरु अमेरिका नै एक्लिने चेतावनी दिएका छन्।