कैलालीमा टाउको क्षतविक्षत पारिएको अवस्थामा पुरुषको शव फेला

कैलालीको अत्तरियामा विभत्स तरिकाले हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा टाउको क्षतविक्षत पारिएको अवस्थामा शव फेला परेको हो। ढुंगाले हानेर टाउको फुटाइएको र दाँतहरू पनि झारिएको भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतकको पहिचान हुन सकेको छैन। शव र घटनास्थलको अवस्था हेर्दा हत्या भएको प्रहरीको आशंका छ।

मन्दिरभित्रै हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। शव मन्दिरको प्रांगणमा भेटिएपनि मन्दिरभित्र र आसपासमा रक्ताम्मे भेटिएको छ। शव घिसारिएको बाटोसमेत देखिन्छ।

शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2025-04-09 16:18:00

प्रतिकृया दिनुहोस्