प्रमिला कार्की
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध उनका समर्थकहरूले आन्दोलन जारी राखेका छन्।
२०७८ साल साउन २५ गते नियुक्त भएका घिसिङको कार्यकाल आगामी साउन २५ गते सकिँदै थियो। तर, साढे चार महिना कार्यकाल बाँकी छँदै सरकारले उनलाई हटाएको भन्दै समर्थकहरू सडकमा आएका हुन्।
आइतबार माइतीघरमा कुलमानका समर्थकहरूले विरोध प्रर्दशन गर्दै, आउने ०८४ को चुनावमा घिसिङलाई प्रधानमन्त्री बनाएर देखाउने भन्दै सरकारलाई चुनौती दिएका छन्।
प्रदर्शनमा सहभागी मष्टो धर्म संरक्षक समितिका अध्यक्ष थर्कबहादुर बस्नेतले आगामी ०८४ मा प्रधानमन्त्री कुलमान घिसिङलाई नै बनाउनपर्छ भन्ने उद्देश्यकासाथ आफूहरू अघि बढेको बताए। कुलमानलाई बर्खास्त गरेको सरकार अब आफैं बर्खास्त हुने चेतावनी समेत उनले दिए।
उनले भने, ‘कुलमान घिसिङलाई बर्खास्त गरेको सरकार अब आफैं बर्खास्त हुन्छ। आगामी ०८४ मा प्रधानमन्त्री कुलमानलाई नै बनाउनुपर्छ भन्ने हाम्रो उद्देश्य छ। यही उद्देश्यलाई बोकेर हामी हिडेको छौं। कुशल कर्मचारीले घुस खाएन भनेर हटाएको छ। यो अन्यायपूर्ण छ। आन्दोलन अझ चर्किएर जानेछ। सरकारको यस्तो रवैया सहदैनौं। सरकारले हाम्रो आवाज सुन्नुपर्छ। चार महिनाको लागि उनको पुनर्बहाली हुनुपर्छ।’
त्यस्तै अर्का सहभागी गणेश योन्जन तामाङले कुलमान जस्तो कुशल व्यक्ति देशको नेतृत्वमा आउनुपर्ने धारणा राखे। कुलमानले दिएको योगदानको कदर गर्दै यदी उनी तयार भए ०८४ को निर्वाचनमा समर्थन गर्ने बताए।
उनले वर्तमान सरकारको कार्यशैली एकदमै जनविरोधी रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पार्ने स्थितिहरु देखिएको बताए।
त्यस्तै ,सामाजिक अभियन्ता, राजाराम तन्डुकारले सरकारले आफूहरूको आवाज नजरअन्दाज गरेमा निरन्तर आन्दोलनमा रहेर सरकारले हटाएको कुलमानलाई ०८४ मा प्रधानमन्त्री बनाउने दाबी गरे।
‘उहाँलाई जुन रुपमा हटाइयो, त्यो गलत थियो। नेपालमा राम्रो मान्छे टिक्दैन, चल्दैन भनेर एउटा भाष्य निर्माण गरिदैछ। राम्रो काम गरेकालाई पुरस्कार दिनुपर्ने ठाँउमा उल्टो हटाउने काम भयो। सरकारबाट सम्बोधन भएन भने निरन्तर आन्दोलनमा कायम रहन्छ। कुलमानलाई प्रधानमन्त्री बनाउने हो।’
त्यस्तै अर्का अभियान्ता सोम शर्मालेको पनि धारणा उस्तै छ। सँधैभरी केपी ओलीको सत्ता तानाशाहीको लागि मात्र भएकाले अब कुलमानलाई सत्तामा लैजान तयार रहेको बताए।
उनले भने, ‘राम्रो काम गर्ने मान्छे सत्तामा जानुपर्छ।’
देशमा कुलमान घिसिङ र बालेन साह जस्ता जनताले विश्वास गरेका हरेक पात्र सबैलाई माथि पुर्याउनुपर्ने उनको धारणा छ।
त्यस्तै सामाजिक अभियन्ता हेमराज थापाले सरकारले जनताको कुरा नसुनेमा प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारबाट लखेट्ने र देशभरका मान्छेलाई बोलाएर अगाडि बढ्ने चेतावनी समेत उनले दिए।
उनले भने, ‘कुलमानलाई प्राधिकरणमा ल्याउने कुरा अर्को भयो। तर सरकार जनताप्रति उत्तरदायी बन्नुपर्ने कुरा महत्वपूर्ण हो। सरकारले जनताको आवाजलाई नजरअन्दाज गरेको देखिन्छ। यसकारण सिंहदरबार र बालुवाटारमा बसेर हामीलाई रेटिरहेकाहरूलाई उत्तरदाही हुन बाध्य पार्न यहाँ आएका हौं। आवाजको सुनुवाइ भएन भने केपी ओलीलाई बालुवाटारबाट लखेट्ने हो। भोली देशभरका मान्छेलाई बोलाएर अगाडि बढ्छौ।’
कुलमान जस्तो मान्छे पदमा रहे देश विकास सहज हुनसक्ने प्रदर्शनमा सहभागी हन्ड्रेड्स ग्रुपका अभियान्ता बब्लु गुप्ताको विश्वास छ। सरकारले आफूले गरेका काम सबै ठिक भन्ने गलत मान्यताको साथ अगाडि बढेको उनको भनाई।
उनले भने, ‘अहिले देशले परिवर्तन खोजेको छ। कुलमान जस्तो मान्छे पदमा रहने हो देश विकास सहज हुन सक्छ। सरकारले आफूले गरेका काम सबै ठिक भन्ने मान्यताको साथ अगाडि बढेको छ। त्यो गलत हो।’