श्रम शोषणविरुद्ध डाक्टरको आन्दोलनः तलब ४८ हजार, पाउँछन् १९ हजार

नेपाल मेडिकल कलेज, जोरपाटीका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। आइतबार श्रम शोषणविरुद्ध उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए।

आन्दोलनरत डा. राजु चौधरीले मन्त्रिपरिषदबाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए।

उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए।

उनले भने, ‘मन्त्रिपरिषदबाट नै पास भइसकेका कुरा अर्थात न्यूनतम तलब ४८ हजार निजी मेडिकलहरूले लागू गरिरहेका छैनन्। त्यसैका विरुद्धमा हाम्रो शान्तिपूर्ण विरोध हो। अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाँउमा सडकमा आएर आफ्नो कुराहरु राख्ने परिस्थिति छ। यसले हामीलाई चिन्तित बनाएको छ। सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैन भन्नेजस्तो भयो। माग सम्बोधन नभएसम्म हामीले सडकमै हुनेछौं।’

यस्तै, डा. अनुशा थापाले सरकार र मेडिकल ऐजुकेशन कमिशनबाट यति तलब दिनुपर्ने भनेर तोकिसक्दा पनि अझैसम्म पनि मेडिकल कलेजहरूबाट कार्यान्वयन नभएको भन्दै धर्नामा आएको बताइन्।

उनले भनिन्, ‘आन्दोलनको मुख्य कुरा भनेको सरकार र मेडिकल ऐजुकेशन कमिशनबाट ४८ हजार तलब दिनुपर्ने हामीले गरेको कामको आधारमा यति दिनुपर्ने भनेर तोकिसक्दा पनि अझैसम्म पनि माग पूरा नभएकाले धर्नामा आएका हौं।’

आन्दोलनकारीहरूले ‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेका थिए।

मन्त्रिपरिषदबाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा आफूहरूलाई १९ हजार ५०० मात्र दिइएको उनीहरूको भनाई छ।

प्रकाशित मिति: : 2025-04-06 17:35:00

प्रतिकृया दिनुहोस्