गत चैत १५ गते भएको प्रदर्शनपछि जति राजावादीहरूको आलोचना भइरहेको त्यो भन्दा धेरै गृहप्रशासनको आलोचना भइरहेको छ।
प्रदर्शनकारीहरू सुरुमै उग्र र हिंसात्मक भए कि प्रहरीले बल प्रयोग गर्यो भन्नेजस्ता बहसहरूले अहिले बजार तातिएको छ।
खासगरी त्यो प्रदर्शनमा गृहप्रशासन निकै कठोर भए प्रदर्शनकारीमाथि बल प्रयोग गरेको तथा उद्धार बचाउ कार्यमा उदासिन भएको आरोपहरू लाग्दै आएका छन्।
जथाभावी गोली चलाउँदा प्रदर्शनमा सहभागी नभएकाहरूलाई समेत गोली लागेको भनेर आलोचित प्रहरीले भने त्यसलाई ‘झुक्किएर भएको’ भन्दै आएको छ।
१५ गतेको हिंसात्मक आन्दोलनको पाँच दिनपछि प्रहरीले पत्रकार सम्मेलन गरेको थियो। त्यहाँ प्रहरीले दिएका कतिपय विवरणहरू पनि अहिले विवादमा परेका छन्।
त्यो बेला प्रहरीले ५८ राउण्ड गोली चलेको बताएको थियो। त्यसमा २० जना घाइते भएको प्रहरीले विवरण दियो। त्यस्तै त्यसक्रममा ७४६ सेल अश्रुग्याँस तथा १९२ प६क ब्ल्याङ्क फायर भएको बताएको छ।
तर प्रहरीकै अर्को गोप्य प्रतिवेदनअनुसार २३९ राउण्ड गोली चलेको भनिएको छ। त्यसलाई भने प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेन।
त्यसक्रममा प्रहरीले अर्धस्वचालित हतियार अर्थात् एसएलआर चलाएको थियो।
त्यतिमात्रै होइन प्रहरीले त्यो बेला म्याद गुज्रिएका गैरघातक हतियार पनि प्रयोग गरेको भनेर अहिले आलोचना भइरहेको छ।
प्रहरीकै विवरणअनुसार तीनकुनेमा प्रदर्शनकारीमाथि ७ सय ७६ राउण्ड अश्रुग्याँस हानेको थियो। तीमध्ये सबै म्याद गुज्रिसकेका थिए।
तर गृहमन्त्री रमेश लेखक तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूले भने तीनकुने घटनामा प्रहरीका बारे भइरहेका टीकाटिप्पणीहरूको खण्डन गरेका छन्।
गृहमन्त्री रमेश लेखकले चैत १५ गतेको प्रदर्शनमा सुरक्षाकर्मी निकै संयम र धैर्यताका साथ प्रस्तुत भएको दाबी गरेका छन्। घटनाबारे जानकारी लिनका लागि राज्यव्यवस्था समितिले शुक्रबार उनलाई बैठकमा बोलाएको थियो।
बैठकमा समितिका सदस्य सांसदहरूलाई जवाफ दिँदै गृहमन्त्री लेखकले सुरक्षाकर्मीको संयमताले नै सम्भावित ठूलो क्षति हुनबाट जोगिएको बताए।
‘त्यो कुनै राजनीतिक प्रदर्शन वा आन्दोलन थिएन। भीड उदण्ड थियो। भीडको नेतृत्वकर्ताहरू नै उदण्ड देखिएका थिए’ उनले भने ‘त्यसको तुलनामा संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो।’
उनले त्यो आन्दोलन नभएर अराजक र उदण्डहरूको भीडमात्रै भएको पनि आरोप लगाए।
‘त्यस्तो पनि आन्दोलन हुन्छ, त्यस्तो प्रदर्शन हुन्छ?’ उनले भने ‘हिंसात्मक गतिविधिबाट गणतन्त्रात्मक व्यवस्था उल्ट्याउने प्रयास भएको छ। संविधान च्यात्ने प्रयास भएको छ।’ त्यसलाई बिषायान्तर गर्नका लागि गृहप्रशासनमाथि अनेकखाले प्रश्नहरू उठाइएको पनि उनले बताए।
त्यस्तै नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरीको सम्पूर्ण संयन्त्र लागिपरको बताए।
त्यो घटनामा राज्यविरुद्धको अपराधमा २० जना र आपराधिक उपद्रपवमा ५८ जनालाई मुद्दा चलाएर अनुसन्धान भइरहेको जानकारी पनि दिए। त्यहीबीचमा सभापति रामहरि खतिवडाले भनेका सोधेका थिए ‘कूल समातिए, मूल समातिएनन्?’ आइजिपीले त्यसमा जवाफ दिँदै भने ‘त्यसका लागि गृहमन्त्रीज्यूको सहकार्यमा काम भइरहेको छ। जसले अपराध गरेको छ उसले आफै गिरफ्तारी त दिँदैन।’
उनले दुर्गा प्रसाईंलाई खोज्नका लागि त्यही (चैत १५ गते) रातभरि पनि प्रहरी परिचालन भएको भन्दै कुन दिन समातिन्छन् चाहिँ भन्न नसकिने बताए।
‘कतिदिनमा समात्छौं भन्न सकिएन, हामीले सबै इफोर्ट लगाएका छौं’ थापाले भने ‘चाँडै नै समाप्छौं। जाहेरी पनि दर्ता भइसकेको छ। समातेर कानुनको दायरमा ल्याउँछौं।’
उनले म्याद गुज्रिएका अश्रुग्याँसहरू र आगजनी भएको घरको छतबाट प्रहार गरिएको आरोप पनि खण्डन गर्दै त्यसलाई अस्वीकार गरेका छन्।
त्यस्तै सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले भीड नियन्त्रणका लागि प्रहरीले न्यून क्षति हुनेगरीमात्रै बल प्रयोग गरेको दाबी गरे।
उनले प्रदर्शनकारीहरू निकै उग्र र उच्छृङ्खल हुँदा र प्रहरीका बन्दुकसमेत लुटिँदा पनि प्रहरीले न्यून बल प्रयोग गरेको बताए।
‘हामीले सकेसम्म कम क्षति हुनेगरी नै बल प्रयोग गरेको हो। सम्झाइबुझाइ गर्दासमेत नभएपछि पानीको फोहोरा, अश्रुग्यास हानिएको हो’ उनले भने ‘हामी निकै संसय भएकै हो। सांसदज्यूहरूबाटै देशको शान्ति सुरक्षा कमजोर भयो भन्ने भनाइ आउँदा त्यसले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील भावनामा कस्तो असर पर्छ भन्ने कुराको पनि ख्याल राख्नुपर्छ कि!’