आधी चैतसम्म पनि काठमाडौंको घाम चर्किन सकेको छैन। औसत तापकम्रम बढे पनि यहाँ न आकाश खुल्न सकेको छ न घाम नै चर्किन सकेको छ। बिहानैदेखि धुम्म हुने यो आकाश वर्षौंदेखि यस्तै हुन्छ यो मौसममा।
पानी पर्दैन। मसिनो चल्ने हावाले आकाशमा थुप्रिएको फोहोर त्यसले उडाउन सक्दैन। अनि आकाश धुम्मिरहन्छ। वर्षायामका एकाध महिनाबाहेक अरु समय यस्तै हो, काठमाडौंको आकाश। जहाँ प्रदुषित हावा बहिरहन्छ। अनि हामीले लिने पलपलको स्वासमा त्यसको परिचक्र चलिरहन्छ।
स्पस्ट कुरा के हो भने ठूलो पानी नपर्दासम्म वा ठूलो हुरीबतास नचलेसम्म यो काठमाडौंको आकाश यसैगरी धुम्मिरहन्छ। प्रदुषणका कणहरूले बाक्लिएको त्यो हावा बाहिर जान सक्दैन।
प्रदुषित सहरको सूचीमा काठमाडौं तलमाथि उक्लिरहन्छ। प्रदुषणका कारण यो सहरको क्रम यताउता भइरहन्छ। हिँज पहिलो नम्बरमा परेको काठमाडौं आज फेरि बिहानैदेखि प्रदुषित विश्व सहरका दोस्रो नम्बरमा छ।
काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ। हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो। आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ।
‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको हो।
इन्डेक्सका अनुसार आज बिहान ७:२५ बजेको मापनअनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २४९ छ। प्रदूषणमा पहिलो स्थानमा रहेको भारतको राजधानी दिल्लीको वायु प्रदूषण एक्यूआई आज ३५३ छ।
त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा पाकिस्थानको लाहोर छ। त्यहाँको वायुको एक्यूआई आज १७८ छ।
विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको जानकारहरुको भनाई छ।
खासगरी बर्खेझरी रोकिएपछि हिँउदमा उतिधेरै झरी पर्नै सकेन। मनसुन आउन त अझै बाँकी नै छ। मनसुनको प्रारम्भभन्दा मनसुन निख्रिँदा नेपालमा उत्तिकै विपद् बोकेर त्यो दर्किरहेको हुन्छ।
हावा, हुरी र घामले खिस्रिक्क बनेको यो मौसममा जंगलभरि आगो नै आगो छ। कतै जंगलको आगो बस्ती छिरेर धनजन खरानी बनाइरहेको छ। कतै बस्तीको आगो वनभरि फैलिएर बुट्यान र जीवजनावरको चिल्लीबिल्ली बनाइरहेको छ। त्यसकै धुँवा रंगमगिएको छ। अनि धेरैजसो उपत्यकाको काखमा बसेका सहरहरू उसैगरी धुम्मिइरहेका छन्।
काठमाडौँ त कचौराजस्तो छ। यसको भू–बनोट नै यस्तै छ। मौसमको प्रणाली प्रभावित पार्ने वायु होस् वा कुनै हावाको दिशा। खासगरी काठमाडौँको पश्चिमी ढोका नागढुङ्गाको वनपाखा हुँदै छिरेको धुँवा धुलोसहितको हावा नागार्जुनको जंगल हुँदै बाहिरिन्छ। तर त्यसका लागि वायुमा प्रदूषणको मात्रा कति बाक्लो छ भन्ने कुराले प्रभाव पार्नसक्छ।
अहिले काठमाडौँमा बाक्लिएको यो दूषित हावालाई धकेल्ने गरी ठूलो बतास चलेको छ न त्यसलाई पखाल्नेगरी ठूलो झरी नै। त्यसैले यो भूगोलमा यहाँ जम्मा भएको धुलो धुँवा बाहिर निस्किन पाउँदैन। धेरै मुस्किल हुन्छ। त्यसैले त्यो केही दिनसम्म यतै यतै धुम्म परिरहन्छ। वायु प्रदूषणमा जंगलमा लागेको डढेलोको धुँवाले ५० प्रतिशत योगदान दिएको हुन्छ। त्यो भन्दा पनि अहिले त काठकाडौंमा सवारी चाप पनि उत्तिकै छ।
के हो वायु प्रदूषण, यो विषाक्त हावाले केसम्म गर्नसक्छ?
खासगरी वायुको गुणवेत्ता संकेत (एयर क्वालिटी इन्डेक्स अर्थात्, एक्यूआई)ले पार्टीक्युलेट म्याटर अर्थात् ‘पिएम’ १० र २.५ माइक्रोग्रामभन्दा पनि साना विषाक्त्त रसायनका कणहरूको मात्राका आधारमा वायुको प्रदूषण मापन देखाउँछ।
नेपाल सरकारले पनि विश्व स्वास्थ्य संगठनकै मापदण्डअनुसार पिएम २.५ लाई आधारभुत इकाइ मानेको छ। यो मात्रामा कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडलगायतका रसायन हुन्छन्। त्यो धुलो वा धुँवाका कणहरूमा धेरै नै बाक्लिएका हुनसक्छन्।
काठमाडौँका विभिन्न ठाउँमा जडान गरिएका एयर क्वालिटी इन्डेक्सहरूले अहिले खतराको सिमा पार गरेका छन्।