राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चैत्र १५ गतेको घटना राजनीतिक घटना मात्र नभई राजनीतिक घटनाक्रम भएको दाबी गरेका छन्।
सोमबार संसद बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शुक्रबारको घटनाक्रमबाट धेरै कुराको सुरुवात पनि हुन सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिएर त्यहीअनुसार समाधान गर्न अनुरोध गरेका छन्।
उनले भने, ‘प्रधानमन्त्रीले १०, १५ हजार आउदै-जादै गर्छन् भन्दैगर्दा अस्ति ४ हजार पनि सम्हाल्न सक्नुभएन। यो एउटा हामीले बुझ्नुपर्ने, राजनीतिक घटना र घटनाक्रम फरक कुरा हो। अस्तिको घटना मात्र होइन्, घटनाक्रम हो त्यसबाट धेरै कुराको सुरुवात पनि हुन सक्छ। त्यसैले यसलाई गम्भीरता पूर्वक लिएर त्यही अनुसार समाधान गर्न अनुरोध गर्दछौ।’
यो पनि-
उनले उक्त घटना संविधान र कानूनको दायराभन्दा बाहिर गएर भएको भन्दै त्यसमा रास्वपाको समर्थन नभएको बताए।
उनले भने, ‘चैत्र १५ गते भएको घटना संविधान र कानूनको दायराभन्दा बाहिर गएर भएको छ र त्यसलाई हामी स्वीकार गर्दैनौ, हाम्रो समर्थन पनि छैन। यसको छानबिन गरियोस् भनेर सचिवालय बैठकबाट निर्णय गरेका छौं र आज सदनमा बोल्दै गर्दा पनि यसको स्पष्ट छानबिनको माग गरेको छु। यसमा राज्य र गृह प्रशासनको तर्फबाट जुन तयारी हुनुपर्ने थियो, त्यो भएन भन्ने कुरा स्वयं प्रधानमन्त्रीले सदनमा स्वीकार गर्नु भईसकेको छ। त्यो कमजोरी प्रधानमन्त्री आफैंले स्वीकार गरिसकेपछि त्यसमा धेरै कुरा गर्नै परेन।’