राजावादीविरुद्ध कडा प्रतिकार गर्ने नेविसंघको चेतावनी

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले चैत्र १५ गते भएको अराजक गतिविधि, लुटपाट र हत्या, हिंसाजस्ता क्रूरतापूर्ण घटनाले राजावादीहरूको निरंकुश, अत्याचारी, सामन्ती सोच र शैली पुनः उजागर गरेको उल्लेख गरेको छ।

संघका अध्यक्ष डुजाङ शेर्पाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संघले अराजक गतिविधि, लुटपाट, सार्वजनिक तथा नीजि सम्पत्तिमा तोडफोड, व्यवसायीहरू माथिको नियोजित आक्रमण, स्वतन्त्र पत्रकारिताको मर्मलाई कुल्चिँदै गरिएको हत्या, हिंसा जस्ता क्रूरतापूर्ण घटनाले राजावादीहरूको निरंकुश शैली पुनः उजागर गरेको उल्लेख गरेका हुन्।

‘नेपालको संविधानले लोकतान्त्रिक प्रणालीलाई आत्मसात गर्दै हरेक नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता, सभासम्मेलन गर्ने, राजनीतिक संघसंस्था खोल्न पाउने तथा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने अधिकार सुनिश्चित गरेको छ। तर काठमाडौमा अनियन्त्रित भीडद्वारा गरिएको अराजक गतिविधि, लुटपाट, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, व्यवसायीहरू माथिको नियोजित आक्रमण, स्वतन्य पत्रकारिताको मर्मलाई कुल्चिदै गरिएको हत्या, हिंसा जस्ता क्रूरतापूर्ण घटनाले राजाबादीहरूको निरंकुश, अत्याचारी, सामन्ती सोच र शैली पुनःउजागर गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

नेपाल विद्यार्थी संघले यस्ता हिंसात्मक गतिविधिहरूको घोर भत्सर्ना गर्दै स्पष्ट रूपमा चेतावनी दिंदै यस्ता क्रूर, सर्वसाधारण नागरिकका घर, व्यवसायी तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, अराजकता फैलाउने, लुटपाट गर्ने जस्ता हिंसात्मक कार्यको कडा प्रतिकार गरेको छ।

‘लोकतन्त्रको मर्मलाई कुल्चिने असंवैधानिक, गैरराजनीतिक तथा आपराधिक गतिविधिको विरुद्धमा खरो प्रतिवाद गर्न आम नागरिक, नागरिक समाज, बुद्धिजीवी तथा विद्याथी सार्थीहरूलाई हार्दिक आक्षान समेत गर्दछौं,’ नेविसंघले भनेको छ।

यसको साथै, संघले एसईई परीक्षामा सहभागी विद्यर्थीहरूलाई पर्न गएको असुविधा, असहज स्थितिप्रति खेद प्रकट गर्दै विद्यार्थीको हक, अधिकार साधै सुरक्षित र शान्तीपूर्ण वातावरणको सुनिश्चित गर्न माग गरेको छ। साथै आम नागरिक, सुरक्षाकर्मी एवं व्यवसायमा पुगेको जनधनको उचित क्षतिपूर्ति सुनिश्चित गर्न माग गरेको छ।

प्रकाशित मिति: : 2025-03-29 12:59:00

प्रतिकृया दिनुहोस्