चैत १५ गते। राजावादीहरूको समूहहरूले केही साता अघि नै आफ्नो ‘शक्ति प्रदर्शन’का लागि यो दिनलाई ‘बुक’ गरिसकेका थिए। यही दिनलाई ‘गणतन्त्रवादी’ भनिएका राजनीतिक दलहरूले पनि आफ्नो ‘शक्ति’ देखाउने साइत देखे।
दुबैथरिले आआफ्नो शक्ति प्रदर्शनका लागि भव्य तयारी थालिरहेका थिए। उनीहरूलाई एक आपसमा जुध्न र सम्भावित मुठभेड टार्नका लागि प्रशासनले दुई शक्तिलाई छुट्टाछुट्टै स्थान तोकिदिएको थियो। त्यसअनुसार राजावादीहरूको लागि तीनकुनेको खाली चउर तोकियो भने समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक पाए।
बिहानैदेखि दुबै स्थानमा समर्थकहरू आउने क्रम सुरु भइसकेको थियो भने काठमाडौंभरि प्रहरीको पनि बाक्लो उपस्थिति थियो।
१२ बजेपछि भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले आमसभा सुरु गरे। यता तीनकुनेमा राजाको पक्ष र गणतन्त्रका विरोधमा राजावादीहरूले नेताहरूलाई घृणित गाली गरिरहेका थिए।
राजावादीको त्यो सभामा सम्बोधन गर्न ठूला नेताहरू आएनन्। अघिल्लो दिन नवराज सुवेदीको संयोजकत्वमा गठन गरिएको राजावादीहरूको एउटा समूहले दुर्गा प्रसाईंलाई यो आन्दोलनको ‘कमाण्डर’ तोकिदिएको थियो। नवराज सुवेदी पनि गौशालातिरको जुलुश नेतृत्व गर्दै तीनकुने पुग्दै थिए। त्यो बेलासम्म राजावादीले गालीगलौजले भरिएको नारा चर्का बनाइसकेका थिए।
त्यसपछि उनीहरू बानेश्वरतिर अघि बढ्न खोजे। तर प्रहरीले तीनकुने पुलबाट उनीहरूलाई बानेश्वरतिर छिर्न दिएको थिएन। त्यहाँ लगाइएका काँडेतारको प्रहरी ब्यारिएर तोडेर उनीहरू अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई धकेल्न थाल्यो। त्यसपछि प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थाले। निजी, व्यक्तिका घरहरूमा ढुङ्गा हानेर झर्यामझुरुम सिसाहरू फोडिदिए।
त्यही बेला आफैले गाडी हाँकेर कमाण्डर भनिएका दुर्गा प्रसाईं प्रदर्शनस्थलतिर आए। त्यो बेलासम्म प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरिसकेको थियो। दुर्गा प्रासाईं आएपछि प्रदर्शनकारीहरू झन उग्र भए। त्यसपछि फेरि केही झडपहरू भए। दुर्गा प्रसाईं पनि प्रदर्शनकारीलाई उक्साउँदै छेउकै एउटा घरमा छिरे। त्यसपछि प्रदर्शनकारीहरू झन् उग्र भएर निजी घरमा आगो लगाउन थाले। त्यसपछि प्रहरीले हवाइ फायर पनि गर्यो। धकेलाधकेल र ढुङ्गा हानाहान गर्दै प्रदर्शनकारीले प्रहरीका हतियारसमेत खोस्न भ्याए।
त्यो बेलासम्म दुर्गा प्रसाईं भने आफैले गाडी हाँकेर त्यहाँबाट निस्किए। प्रसाईं बीएबी ४२०८ नम्बरको कार चढेर आएका थिए। त्यही कार हाँकेर त्यहाँबाट निस्किए। त्यहाँबाट निस्किएर उनले सामाजिक सञ्जालबाट प्रहरीले दमन गरेको र प्रदर्शनस्थलमा जान नदिनका लागि अश्रुग्याँस हानेको आरोप लगाए। उनले राजावादीहरूलाई निजी सम्पत्तीमा आगजनी नगर्न पनि अपिल गरे। त्यतिञ्जेल प्रदर्शनकारी झन उग्र भइसकेका थिए। प्रसाईं आफैले गाडीबाट हात हल्लाउँदै प्रदर्शनकारीलाई प्रहरीको घेरा तोड्न लगाएर झन उक्साएका थिए।
त्यसपछि मञ्चमा रहेका केही धार्मिक व्यक्तिहरू पनि कार्यक्रमस्थल छोडेर हिँडे। त्यसबाहेक त्यहाँ उनै ढुङ्गामुढा गर्ने आराजक प्रदर्शनकारीहरू बाँकी रहे।
त्यो बेलासम्म प्रदर्शनकारी झन् झन् उग्र भइसकेका थिए। उनीहरूले तीनकुने पुलछेउ आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालय पनि तोडफोड गरे। पार्टी कार्यालयभित्र छिरेर त्यहाँका सरसामान र कागजपत्रहरू बाहिर निकालेर आगो झोसिदिए।
उनीहरूले तीनकुने(गैरीगाउँ पेट्रोलपम्म छेउमा)रहेको अन्नपूर्ण मिडिया नेटवर्कमा पनि तोडफोड गरेका थिए। त्यसपछि कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केट पनि तोडफोड गर्दै उनीहरूले त्यहाँका सामान पनि लुटेर लगे। त्यतिञ्जेल प्रदर्शनकारीहरू माओवादीको पार्टी कार्यालय पेरिस डाँडा पनि पुगिसकेका थिए। त्यहाँ भित्र छिर्न नसकेपछि उनीहरूले वरिपरिरहेका निजी सवारी साधनमाथि आगजनी गरे।
यसरी दिनभरि तीनकुने क्षेत्रलाई रणभूमि बनाएर दुर्गा प्रसाईं भागे। साढे ४ बजेतिर जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गर्दासम्म पनि प्रदर्शनकारीहरू आगजनी र ढुङ्गामुढा गरिरहेका थिए।