प्रतिनिधि सभाको बिहीबारको बैठकमा १० जना सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
बैठकमा सांसदहरूले देशको आर्थिक, सामाजिक, कूटनीतिक र विकाससँग सम्बन्धित विषयहरूमा केन्द्रित रहेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन्।
प्रधानमन्त्रीले उनीहरूका प्रश्नको जवाफ लिखित वाचनसहित केही मौखिक रूपमा समेत दिएका थिए।
000
माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एसईई सञ्चालन भएको हाे।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भएको थियाे।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ।
000
नेकपा एमालेले मुलुकमा राजावादीको सक्रियता बढ्दै गएपछि लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने भएको छ।
एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो।
तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लै निर्वाचन लड्न सक्षम भएको प्रमाणित भएको बताएका छन्।
माओवादी केन्द्र जिल्ला समन्वय समिति बाराद्वारा आयोजित तराई–मधेस जागरण सभालाई बिहीबार सम्बोधन गर्दै उनले आफूहरूलाई बैशाखीको आवश्यक नरहेको बताएका हुन्।
माओवादी आफ्नै खुट्टामा उभिन सक्षम रहेको बताउँदै उनले कांग्रेस र एमालेसँग तालमेल गर्दा पार्टीलाई घाटा भएको बताएका थिए।
000
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बाेल्दै उनले नेपाली कांग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको बताएका हुन्।
सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरूको भएको बताउँदै उनले अबका दिनमा कुनैपनि पार्टीको पछि नलाग्ने स्पष्ट पारेका थिए।
000
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव०ले अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको बताएका छन्।
बिहिबार बेलबारीमा आयोजित एक कार्यक्रममा बोल्दै विप्लवले अहिलेको व्यवस्था अपूरो रहेको बताएका हुन्।
राजतन्त्रबाट गणतन्त्रमा आउनु प्रगतिको कुरा रहेको बताउँदै उनले समाजवादी गणतन्त्र, नेपालका जनताको अपेक्षा, माग र आवश्यक्ता भएको बताएका थिए।
000
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १३ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ।
चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो।
यस अवधिमा नेपालले ९ खर्ब सतासी अर्ब ३९ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ। याे गत आवको सोही अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो।
000
टर्कीमा इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।
प्रदर्शनकारीहरूले सडक, विश्वविद्यालय र मेट्रो स्टेसनहरूमा सरकारविरोधी नाराबाजी गरिरहेका छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारी र प्रहरीबीच झडपको खबर पनि आएको छ।
यासँगै सरकारले इस्तानबुलमा चार दिनका लागि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ। साथै, धेरै सडक र मेट्रो सेवाहरू बन्द गरिएका छन्।
000
पौने पाँच अर्बमा निर्माण हुने चिनियाँ चलचित्र नेपालमा छायांकन हुने भएको छ।
‘लिभ फरेवर एन्ड नेभर डाई’ नामक चलचित्रकाे नेपालमा ५० प्रतिशत छायांकन हुने भएको हो।
नेपालको काठमाडौं, चितवन र लुम्बिनीमा छायांकन हुने चलचित्रमा नेपालका चलेका कलाकारहरू पनि सहभागिता रहनेछ।