राजावादीको सक्रियतापछि ब्यूँझियो ‘समाजवादी मोर्चा’

Break n Links
Break n Links

विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ। 

आज एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले बताए। समाजवादी मोर्चाको नेतृत्व अहिले नेकपाका महासचिव नेत्रबिक्रम चन्द विप्लवले गर्दै आएका छन्। 

यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा उनकै नेतृत्वमा समाजवादी मोर्चा गठन भएको थियो। 

‘१५ गतेको यो एकदमै वृहत् प्रदर्शनको कुरा छ त्यसलार्ई भव्य बनाउने। हजारौँ जनताको सहभागितालाई सुनिश्चित गर्ने र  अहिले जसरी प्रतिगामी कदम र  हर्कतहरु जो  बढिरहेका छन् त्यसलाई क्रस गर्ने गरीकन अर्थात त्यसलाई असफल गर्ने गरीकन १५ गतेको कार्यक्रमलाई सम्पन्न गर्नुपर्छ भन्ने  निर्णय गरिएको छ। संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको छ’ उनले भने। 

एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ। त्यस्तै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने समेत उनले बताए।

उनले भने, ‘भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँगको  अन्तरक्रिया, उहाँहरुसागको परामर्श गर्ने कार्यक्रम राखिएको छ। दुई ढाई घण्टा त्यो  अन्तरक्रिया चल्छ।  साथै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन आयोजना गरिने छ। कुपण्डोलको हिमालयन होटेलमा दुवै कार्यक्रमहरु हुने छन्।’

केही दिनयता देशव्यापीरुपमा राजावादीहरूको प्रदर्शन बढ्न थालेपछि सबै राजनीतिक दलहरू सशंकित भएका छन्। त्यहीबीचमा नेकपा माओवादी पनि तराई मधेस जागरण अभियान रोकेर काठमाडौं फर्किएको थियो। 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘प्रतिगामी’विरुद्ध लाखौं जनता सडकमा उतार्ने चेतावनी दिँदै आएका छन्। 
 

प्रकाशित मिति: : 2025-03-14 10:24:00

प्रतिकृया दिनुहोस्