प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं आइपुगेका छन्।
शनिबार ललितपुरको पुल्चोकमा आयोजना गरिएको ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन्।
नेपाल आइपुगेका अलीले नेपाल मेरो दिलको नजिक रहेको बताए। उनले नेपाल संसारकै सुन्दर देश भएको बताए।
कैयाै नेपाली गीतमा आफ्नाे स्वर दिइसकेका अलीका ‘गाजुल ती ठूला ठूला आँखा’, किन निक तिम्राे तस्वीर, के छ र दिउँलगायत थुप्रै कालजयी गीतहरू चर्चित छन्।
‘नेपाल मेरो दिलको नजिक छ। नेपाललाई म धेरै माया सम्मान समेत गर्छु । नेपाल संसारकै सुन्दर देश लाग्छ मलाई। मेरो गीतसंगित मन पराउनु हुन्छ यसमा दर्शक र भगवानको कृपा छ।’
११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए।
अलीले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम छ।
अलीले पहिलोपटक नेपालमा प्रस्तुति दिन लागेका हुन्। अलीसँगै उनका छोरा अमिर र नाती नाजिरले पनि प्रस्तुति दिने कार्यक्रम छ।
उनका सबैभन्दा प्रसिद्ध गजलहरू मध्ये ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’ र ‘ये दिल ये पागल दिल मेरा’ समावेश छन् जसलाई बलिउड फिल्महरूमा पनि फिचर्ड गरिएको छ। यसबाहेक उनले मनमोहक पञ्जाबी गीत गाएका छन्।
उनले तत्कालिन नेपाली राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्वीर’ पनि गाएका छन्, जुन नेपालमा निकै रुचाइएको गीतमध्ये पर्छ।
यो गीतका संगीतकार दीपक जंगमलाई समारोहमा विशेष सम्मान प्रदान गरिने भएको छ। जंगमले अलीका ४ गीतमा शब्द रचना तथा संगीत दिएका छन्।
टिकटबाट संकलित रकमको केही हिस्साबाट गायन र नृत्यमा लागिरहेका बच्चालाई १ वर्षको छात्रवृति दिइने भएको छ। टिकट व्यवस्थापन इसेवाले गर्नेछ। टिकट मुल्य ५ हजारदेखि दुई लाखसम्म राखिएको छ।