रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले रुस पनि युद्धबिरामका लागि तयार रहेको बताएका छन्। तर त्यसका लागि केही आधारभूत विवादका विषयहरू सुल्झाउनुपर्ने शर्त उनले राखेका छन्।
गत साता साउदी अरबमा युक्रेनसँगको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मले युद्धविरामको प्रस्ताव सुनाउन आफ्ना कुटनीतिक दूत स्टिभ विटकोफको प्रतिनिधि टोलीलाई मस्को पठाएका छन्। साउदी अरबमा अमेरिकी अधिकारीहरूसँगको वार्तामा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको थियो।
ट्रम्पको प्रतिनिधि टोलीसँग वार्ता हुनुअघि राष्ट्रपति पुटिनले एउटा पत्रकार सम्मेलन गरेर केही आधारभूत विवादहरूको समाधान नभइ युद्धबिराम प्रभावकारी हुन नसक्ने बताएका हुन्।
उनका अनुसार युक्रेनसँग अहिलेसम्म नसुल्झिएको एउटा विवादित भूभागको विषय छ। त्यो भनेको ‘कुर्स्क’ इलाका हो। यो ऐतिहासिक तथा पुरातात्विक इलाका पूर्वी रुसमा पर्छ। गत वर्ष यो क्षेत्रको केही भागहरू युक्रेनले नियन्त्रणमा लिएको थियो। तर अहिले पूर्णरुपमा रुसले नियन्त्रणमा लिइसकेको र युक्रेनी सेनालाई त्यहाँबाट हटाइएको दाबी गरेको छ।
यद्यपि पुटिनले युद्धविराम हुनुअघि युक्रेनले यो इलाकामाथिको आफ्नो दाबी छोड्नुपर्ने बताएका छन्।
‘कुर्स्कका लागि युक्रेनसँग दुई बिकल्प छन्, या त युक्रेनले त्यसका लागि आत्मसमर्पण गर्नुपर्छ। म मारिनका लागि तयार रहनुपर्छ’ पुटिनले भनेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्धविरामका नाममा पुटिनले षड्यन्त्र गरिरहेको बताउँदै उसमाथि थप प्रतिवन्धको माग गरेका छन्।
यसबीचमा अमेरिकाले रुसमाथि तेल, ग्याँस तथा केही वित्तिय प्रतिबन्धहरू पनि थप गरेको छ।
‘युद्धविरामको प्रस्ताव एकदमै राम्रो हो। हामी पनि यसलाई समर्थन गर्छौं’ उनले भनेका छन् ‘तर युद्धका केही मूल कारणहरू छन् र हामी पहिला त्यसको समाधान चाहन्छौं। रुस सधैं दीगो शान्तिको पक्षमा छ।’
उनले ट्रम्पसँग आफैले कुराकानी गर्ने पनि बताएका छन्।
‘रुसले अमेरिकी प्रतिनिधिहरूसँग पनि वार्ता गर्नेछ। र आवश्यक परे म आफैले ट्रम्पसँग पनि कुराकानी गर्नेछु’ उनले भनेका छन् ‘हामी यो युद्ध बन्द गर्न चाहन्छौं। तर ३० दिनमात्रै होइन दीर्घकालीनरुपमा शान्ति स्थापनाका लागि युद्ध समाप्त होस्। त्यसकै लागि हामीले यो युद्ध र संकटका मूल समस्याको समाधान खोजिरहेका छौं।’
एजेन्सीहरूकाे सहयोगमा