मध्यपूर्वको एउटा गणतान्त्रिक देश सिरियामा फेरि हिंसा भड्किएको छ। लामो समयदेखि चल्दै आएको त्यहाँको आन्तरिक गृहयुद्ध केही समय थामिएको थियो। यद्यपि राजनीतिक द्वन्द्व भने यथावत नै थियो। त्यही राजनीतिक द्वन्द्व अब भने फेरि हिंसामा परिणत भएको छ।
सरकारी सुरक्षा फौंज तथा पूर्व राष्ट्रपति बसर अल असदका समर्थकहरूबीच भएको झडपमा दुई दिनमै एक हजारभन्दा धेरै मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि दुवै पक्षले एकअर्को पक्षका अझ धेरै मानिस मारिएको दाबी गरेका छन्। तर सरकारले भने स्वतन्त्ररुपमा त्यसको कुनै पुष्टि हुने आधारहरू दिएको छ।
शुक्रबार र शनिबार त्यहाँ ठूला झडपहरू भएका थिए। त्यहाँको सरकारी नियकाले आधिकारिकरुपमा पुष्टि नगरे पनि विभिन्न अन्तर्राष्ट्रिय अनुगमनकारी निकायहरूले ती झडपहरूमा सयौंको संख्यामा आम नागरिक मारिएको जनाएका छन्। बेलायतस्थित ‘सरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले ती झडपहरूमा कम्तीमा ७४५ जना सर्वसाधारणको ज्यान गएको जनाएको छ। सयौं सर्वसाधरण मानिसका घाइते भएको भन्दै त्यहाँ मानवीय संकट सुरु भइसकेको पनि उसले जनाएको छ।
उसका अनुसार आमनागरिकबाहेक पूर्वराष्ट्रपति असद समर्थित १४८ जना र सरकारी सुरक्षा निकायका १२५ जना मारिएका छन्।
बितेको १४ वर्षमा यो सिरियामा भएको यो सबैभन्दा ठूलो हिंसा हो।
गत वर्ष २०२४ को डिसेम्बरमा सिरियाली विद्रोहीले तत्कालीन राष्ट्रपति बसर अल असदलाई सत्ताच्यूत गरेका थिए। विद्रोहीले उनको निजी तथा सरकारी निवास कब्जा गरेपछि उनी भागेर रुस पुगेका थिए। त्यो बेला बसरलाई रुस र बेलायतको समर्थन थियो।
बसरका पिता एक सैनिक शासक थिए। सत्ता हत्याएर शासन आफ्नो लिएका उनको मृत्युपछि बसर आफ्नो देश फर्केर सत्ता सम्हालेका थिए। २०२४सम्म यो परिवारले सिरियामा लगभग ५० वर्ष निरंकुश र क्रुर शासन चलायो। सत्ता सम्हाल्नुअघि बसर एक आँखाका डाक्टर थिए र बेलायतमै उनले त्यसको अध्ययनसँगै अभ्यास पनि गर्दै आएका थिए।
सुरुमा राजनीतिक स्वतन्त्रता र उदार देखिएका बसरले पछि आफ्नो सत्ताविरुद्ध बोल्नेहरूलाई दमन गर्न थाले। उनीमाथि आफ्नै नागरिकहरूमाथि अत्याचार गरेको र प्रतिबन्धित हतियार प्रयोग गरी आक्रमण गरेको आरोप लाग्दै आएको छ।
उनी अपदस्त भए पनि अहिले सिरियामा उनीप्रति निकै वफादार मानिने एउटा समूह छ। जसलाई ‘अलावाइट लडाकु’ भनिन्छ। गत शुक्रबार यही लडाकु समूले त्यहाँको तटीय प्रान्त लताकियामा सरकारी सुरक्षा फौंजमाथि आक्रमण सुरु गरेको थियो। त्यसका लागि हज्जारौं लडाकु उक्त क्षेत्रमा भेला भए।
असद भागेपछि अहिले त्यहाँको सरकारको नेतृत्व विद्रोही समह हयात तहतिर अल-शामले गरिरहेको छ। अहमद शारा अहिले सिरियाका अन्तरिम राष्ट्रपति छन्। यो हिंसा भड्किएपछि उनले राष्ट्रिय एकताका लागि आह्वान गरिरहेका छन्।
यो लडाईंपछि हजारौं मानिस भागेर छिमेकी देश लेबनान पुगेका छन्। कैयौं आन्तरिक शरणार्थी भएर बसिरहेका छन्।
-एजेन्सीहरूकाे सहयाेगमा