राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजाको स्वागतका लागि एयरपोर्टमा आउन आग्रह गरेका छन्।
आइतबार पोखरा भ्रमणबाट काठमाडौं आउन लागेका पूर्वराजालाई राजावादीहरूले काठमाडौं विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छन्। सोही स्वागतमा प्रधानमन्त्रीलाई सहभागी हुन् शाहीले आह्वान गरेका हुन्।
उनी भन्छन्, ‘जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस्। सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौं एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।’
शाहीले ओलीलाई राजाको स्वागतमा आउन आह्वान गरेपनि प्रधानमन्त्री यतिबेला काठमाडौंमा छैनन्। उनी पश्चिम नेपालको भ्रमणमा छन्।
शाहीले अदालत, प्रहरी, कर्मचारी, शिक्षक सबै कार्यकर्तालाई बनाएको र भ्रष्टाचारले अहिलेका नेताहरू गन्हाएकाले भ्रष्टाचारीहरूलाई तह लगाउन राज संस्था चाहिएको दाबी गरेका छन्।
उनी भन्छन्, ‘यो १६ वर्षमा देशमा लुटतन्त्र मच्चाएर अझै पुगेको छैन गाउँ गाउँमा छोटे राजाहरू छन्। ८० लाखभन्दा बढी युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन्। एक वर्षमा ७ लाखभन्दा बढी युवाहरू विदेशिन्छन्। उद्योग बन्द गर्यौ कलकारखाना बन्द गर्यौ। राजाका पालामै निर्माण भएका निःशुल्क उपलब्ध स्वास्थ्य शिक्षा जस्ता आधारभूत सेवा र सुविधाहरू पैसामा बिक्री गर्ने र बेच्ने धन्दा चलायौ। अदालत कार्यकर्ताको बनायौ। प्रहरी कार्यकर्ताको बनायौ। कर्मचारी कार्यकर्ताको बनायौ शिक्षक कार्यकर्ता बनायौ भ्रष्टाचारले तिमीहरू डङ डङ्गती गनायौ। तिमीहरूलाई अझै के आधारमा विश्वास गर्ने? अब तिमीहरू जस्ता भ्रष्टाचारीहरूलाई तह लगाउनका लागि एउटा संस्था चाहियो जसलाई भनिन्छ राज संस्था।’
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि आइतबार दिउँसो काठमाडौं फर्किंदैछन्।
उनको स्वागतमा राजावादी दल र समूहहरूले प्रदर्शन गर्दैछन्। राजावादी समर्थकहरूले पूर्वराजालाई स्वागत गर्न सिनामंगलस्थित विमानस्थलको मुख्य गेटमा जाने त्यहाँबाट उनलाई लिएर र्यालीसहित निर्मल निवास पुग्ने तयारी गरेका छन्।
पूर्वराजाको स्वागत र प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।
आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशालालगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए।