अमेरिकाले सबै चिनियाँ वस्तुहरूमा थप कर लगाएपछि चीनले कडा प्रतिक्रिया दिएको छ। अमेरिकामा वस्तु तथा सेवा निर्यातमा चीन सबैभन्दा ठूलो देश हो। तर ट्रम्प राष्ट्रपति भएसँगै उनले चिनियाँ सामग्रीमाहरूमा चर्को कर लगाइदिए।
त्योसँगै उनले क्यानडा तथा मेक्सिकोलगायत राष्ट्रमा उत्पादित सामानहरूमा कर बढाउने निर्णय गरेका छन्। यो निर्णय बुधबारदेखि नै लागु भइसकेको छ।
पहिला नै चिनियाँ सामानहरूमाथि अमेरिकाले १० प्रतिशत कर लगाइदिएको थियो। अहिले फेरि उसले १०-१५ प्रतिशतसम्म कर वृद्धि गरिदिएको छ।
ट्रम्पको निर्णयसँगै अमेरिकास्थित चिनियाँ दूतावासले सामाजिक सञ्जालमा ‘अन्तिम समयसम्म’ लड्ने सन्देश दिएको थियो।
त्यसलाई उसले फेरि पनि पोस्ट गरिरहेको छ।
‘अमेरिकाले साँच्चिकै चाहेको हो भने हामी अन्त्यसम्म लड्न तयार छौं। चाहे त्यो कर युद्ध होस् वा अरु जस्तोसुकै प्रकारको युद्ध होस्’ चिनियाँ सरकारले गरेको टिप्पणीलाई अमेरिकास्थित चिनियाँ दूतावसले फेरि पोस्ट गरेको छ।
राष्ट्रिय जनकंग्रेसको भेलाका लागि चिनियाँ नेताहरू बेइजिङमा भेला हुँदै गर्दा चीनको यो प्रतिक्रियालाई अनेक कोणबाट हेरिएको छ।
यसअघि नै चिनियाँ विदेश मन्त्रालयले कुनै शक्तिको जबर्जस्तीका सामु चीन कहिल्यै नझुक्ने प्रतिक्रिया दिएको थियो।