यो सरकार हाम्रो रहरले बनेकै होइनः मीन विश्वकर्मा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले माओवादीकै कारण अहिलेको सरकार बनेको दाबी गरेका छन्।

सोमबार रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कांग्रेसले नचाहँदा नचाहँदै अहिलेको सरकार बनेको प्रतिक्रिया दिए।

प्रचण्डले जादुमय नम्बरको हतियार देखाउँन थालेपछि एमाले आत्तिएको र सरकारबाट बाहिरिनुपरेपछि कांग्रेसले पनि विकल्प खोजिरहेको अवस्थामा अहिलेको सरकार बनेको उनले दाबी गरे।

उनले भने, ‘प्रचण्डले हामीसँग जादुमय अंग छ। यो सरकार पाँचै वर्ष चल्छ भनेपछि एमाले आत्तियो। उसलाई चिन्ता बढ्यो। हामीले त छोडिसकेका थियौं, विकल्पको खोजीमा थियौं। त्यसकारण अहिलेको सरकार बनाइदिने काम स्वयं प्रचण्डले गरिदिनुभएको हो। हाम्रो रहरले बनेकै होइन यो सरकार। हामीलाई कांग्रेस-एमाले मिल्ने रहरै थिएन। हामी त आमनेसामनेका प्रतिस्पर्धी हौं। बहुदल आएदेखि नै कांग्रेस-एमाले मुख्य प्रतिस्पर्धी हौं। त्यसैले हामी उहाँहरूसँग मिलेर सरकारमा सँगै जाने पक्षमै थिएनौं।’

उनले कांग्रेस-एमाले नमिल्दा सरकारै नबन्ने भएपछि अन्तिम विकल्पको रुपमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अहिलेको सरकार बनेको दाबी गरे।

उनले भने, ‘कांग्रेस-एमाले नमिल्दा सरकारै नबन्ने भएपछि अन्तिम विकल्पको रुपमा यो सरकार बनेको हो। प्रचण्डको नै क्रियाकलापले यो सरकार बनेकोले हामी उहाँलाई धन्यवाद दिन चाहन्छौं।

त्यस्तै उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमा बताउँदै अहिले अब पार्टीभित्र गुट तथा पक्षहरू नहुने दाबी गरे।

उनले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको बताए।

प्रकाशित मिति: : 2025-03-03 13:56:00

प्रतिकृया दिनुहोस्