नेपाली विद्यार्थी प्रकृती लम्सालको आत्महत्या प्रकरण र नेपाली विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा जोडिएका केआईआईटी विश्वविद्यालयका पाँच कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तीनजना निर्देशक छन्। भने दुई जना सुरक्षा गार्ड छन्। भारतीय मिडियाहरूमा पक्राउ पर्नेमा विश्वविद्यालय डीजी-एचआर शिबानन्द मिश्र, प्रशासन निर्देशक प्रतापकुमार चम्पती, छात्रावास निर्देशक सुधीरकुमार रथ छन्। त्यस्तै दुई सुरक्षा गार्डहरू रमाकान्त नायक र योगेन्द्र बेहरा छन्।
नेपालीका साथै भारतीयहरूको पनि चर्को विरोध सुरु भएपछि प्रहरी उनीहरूलाई पक्राउ गर्न बाध्य भएको हो।
किटको होस्टलमा बुटवलकी २० वर्षीया प्रकृती लम्साल आइतबार राति मृत फेला परेकी थिइन्। उनको मृत्यु शंकास्पद रहेको भन्दै नेपाली विद्यार्थीले छानबिनको माग गरेपछि क्याम्पस प्रशासनले उल्टै कुटपिट गर्दै निष्कासन गरेको थियो।
नेपाली विद्यार्थीहरूलाई अमानवीय व्यवहार गर्दै पाँच सय बढी विद्यार्थीहरूलाई रेल्वे स्टेसनमा अलपत्र पारेपछि सर्वत्र आलोचना सुरु भएको थियो।
यसैबीच ओडिसा सरकारले घटनाबारे छानबिनका लागि उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ।