राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले सरकारले सीमान्तकृत समुदायका आवाज बोल्नेहरूको चरित्रहत्या गरेकाे आराेप लगाएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले सत्ताधारीहरूले परिवर्तन र विद्रोहको आवाजलाई ‘अराष्ट्रिय तत्त्व’, ‘विदेशी दलाल’, ‘परिचालित’ भन्ने गरेकाे पनि दाबी गरिन्।
सुमनाले भनिन्, ‘सत्ताले परिवर्तन र विद्रोहको आवाजलाई अराष्ट्रिय तत्त्व, विदेशी दलाल, परिचालित आदि भनेको त हामी सुन्दै आएका हौँ। अहिलेका सत्तासीन दल र नेताहरूलाई समेत परिवर्तनको पक्षमा बोलेका बेला यस्तै भनिएको थियो होला। तर दुर्भाग्य के छ भने अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि सीमान्तकृत समुदायका आवाजलाई सरकारले सुन्ने हैन दबाउने, माग सम्बोधन गर्ने हैन यस्ता आवाज बोल्नेहरूको चरित्रहत्या गर्नेतिर लागेको छ।’
०००
सुमनाकाे भनाइ जस्ताकाे त्यस्तै
सत्ताले परिवर्तन र विद्रोहको आवाजलाई ‘अराष्ट्रिय तत्त्व’, ‘विदेशी दलाल’, ‘परिचालित’ आदि भनेको त हामी सुन्दै आएका हौँ। अहिलेका सत्तासीन दल र नेताहरूलाई समेत परिवर्तनको पक्षमा बोलेका बेला यस्तै भनिएको थियो होला। तर दुर्भाग्य के छ भने अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि सीमान्तकृत समुदायका आवाजलाई सरकारले सुन्ने हैन दबाउने, माग सम्बोधन गर्ने हैन यस्ता आवाज बोल्नेहरूको चरित्रहत्या गर्नेतिर लागेको छ।
पूर्वमा मुकुम्लुङको अस्तित्व बचाउन होस् या मधेश र पश्चिममा दलितमाथि भएका सामाजिक विभेद र सत्ताको आडमा भएका अत्याचारविरुद्ध उठेका आवाज होउन्- राज्यले संवेदनशील भएर सुन्नुपर्ने होइन र? अनि, राजनीतिक दलदेखि नागरिक समाज, मूलधारका भनिएका मिडियादेखि बौद्धिक वर्गले सीमान्तकृत समुदायको प्रेमजस्तो व्यक्तिगत र धार्मिक आस्थाजस्तो संवेदनशील विषयमा राज्यले दमन गरिरहँदा बोल्नुपर्ने हैन र? दलित र आदिवासी जनजातिका नाममा स्थापित संवैधानिक आयोग होउन् या यी समुदायलाई प्रतिनिधित्व गर्ने क्लस्टरका जनप्रतिनिधिहरू सबैले यी आवाजहरूको अपनत्व लिनुपर्ने हैन र?
निरङ्कुश शासनविरुद्ध ‘झापा विद्रोह’ गर्दा होस् या ‘विमान अपहरण’को तैयारी गर्दा कसैले तपाईँहरूको अडियो रेकर्ड गरी सार्वजनिक गरेको भए के प्रतिक्रिया दिनुहुन्थ्यो? विद्रोहको स्वर जहिल्यै चर्को हुन्छ। हिंसालाई बढावा दिने कुरा हामी कसैले समर्थन गर्दैनौँ तर हिंसाकै जगमा उभिएका सत्तारुढ दुई दलले एकैपटक लोकतन्त्रका कुरा पनि गर्ने अनि ‘हाम्रो आस्थामाथि प्रहार नगर’ भन्ने नागरिकमाथि गोली प्रहार पनि गर्ने? संसद्मा ‘समानता’ मेरो जीवन मूल्य हो पनि भन्ने अनि दलित भएकै कारण प्रेम गर्ने युवकमाथि प्रहरी लगाएर ज्यादती पनि गर्ने?
आजै मात्र गृहमन्त्रीज्यूको पुर्ख्यौली जिल्ला बैतडीमा एक जना दलित युवाले आफ्नी दिवङ्गत आमाको शव उठाउन मलामी नपाउँदा दिनभर आमाको शव कुरेर बसेको समाचार आएको छ। हामीले सामाजिक न्याय र चेतनाको क्षेत्रमा धेरै काम गर्नुपर्नेछ। लोकतन्त्र भनेको सत्तातन्त्र होइन, बहुमततन्त्र त झन् हुँदै हैन। लोकतन्त्र बलियो त्यतिबेलामात्र हुन्छ जति बेला समाजको पिँधमा रहेका, अल्पसङ्ख्यक र दलित–दमित समुदायका मान्छेले राज्यले न्याय दिएको महसुस गर्छन्।
आदिवासी र दलितलाई प्रताडित गरेर न लोकतन्त्र बच्छ न समाजवाद आउँछ। परिवर्तनको चाहना र विद्रोहका आवाजलाई सुनौँ, समेटौँ। कतै ढिला नहोस् !
यदि तपाईं कुनै सर्वगुण सम्पन्न व्यक्तिलाई आन्दोलनका नेताका रूपमा खोज्दै हुनुहुन्छ, शायद तपाईंले जीवनभर पर्खनुपर्नेछ।