आशिका तामाङविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता, शुक्रबार थुनछेक

सामाजिक अभियान्ताले परिचित आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।

प्रहरी वृत्त जगातिको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालय भक्तपुरले जिल्ला अदालत भक्तपुरमा अभियोगपत्र दायर गरेको हो।

मंगलबार मुद्दा दायर भएपनि बयान र थुनछेक बहसका लागि शुक्रबार मात्रै अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

साँगा महादेव मुर्ति नजिकको झोलुंगे पुलबाट आवतजावत गर्नेहरूलाई सूर्यविनायक नगरपालिकाले कर लिएको विषयमा तामाङसहितको टोलीले कर्मचारीसँग रसिद खोसेर जलाएकी थिइन्।

लगत्तै सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध अनुसन्धान गर्न प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रव गर्न नहुने कसुरमा जाहेरी दिएको थियो।

अभद्र व्यवहार कसुरमा सोमबार मात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट धरौटीमा छुटेकी आशिकालाई सोमबार नै फेरि पक्राउ गरेर भक्तपुर लगिएको थियो।

प्रकाशित मिति: : 2025-01-28 18:25:00

प्रतिकृया दिनुहोस्