वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जिल्ला अदालत काठमाडौं परिसरमा आफूमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध किटानी जाहेरी दिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार त्रिपाठीले दिएको ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ।
कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको बुधबार अदालतमा थुनछेक बहस भएको थियो। सहकारी पीडितको तर्फबाट बहस गरेका त्रिपाठीमाथि अदालत परिसरमै लामिछाने समर्थक युवाहरूले हातपात गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आक्रमणको अनुसन्धानका क्रममा घटनामा संलग्न एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखा जिल्लाको तामाकोशी गाउँपालिका-१ का ४८ वर्षीय ललीत केसी छन्। उनी ललितपुर, टीकाथलीमा डेरा गरी बस्ने गरेको खुलेको छ। बुधबार साँझ जिल्ला अदालतनजिकैबाट पक्राउ उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ।
उनीविरुद्ध त्रिपाठीले ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरमा किटानी जाहेरी दिएका हुन्।