राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
दुई नेताले प्रधानमन्त्री ओलीसँग बिहीबार र शुक्रबार छुट्टाछुट्टै भेट गरेका हुन्।
अध्यक्ष लिङ्देनले बिहीबार साँझ प्रधानमन्त्रीसँग भेट गरेकाे शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
उनले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्रीसँग भेटघाट भएकाे बताएका छन्।
लिङ्देनले प्रधानमन्त्रीसँग भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भएकाे उल्लेख गरेका छन्।
‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पौष २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग लामो समयपछि हिजो साँझ भेटघाट भयो। भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भयो’, उनले लेखेका छन्।
यसैगरी राप्रपा नेपालका अध्यक्ष थापाले पनि शुक्रबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
भेटका क्रममा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको थापाको सचिवालयले जनाएको छ।
राप्रपाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गते काठमाडौँको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ।