साँखुको शालीनदीमा माधवनारायणको व्रत सुरु हुँदैछ।
हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यो व्रत हनुमानघाट त्रिवेणीदेखि टौमरीसम्म साष्टांग प्रणाम गर्दै सोमबारदेखि सुरु हुन लागेको हो।
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यस व्रतको सुरुआत हुन्छ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।
स्वस्थानी व्रत विशेषगरी महिलाहरूले लिने गरेपनि स्वस्थानीसँगै जोडिएर आउने माधव नारायणको व्रत केटाहरुले लिने गर्दछन्।
हिमालय पुत्री पार्वतीले गुरु माधवनारायण भगवानलाई साक्षी राखेर स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री, शक्ति) माताको व्रत बसेर महादेव पती पाएको धार्मिक किम्बदन्ती छ।
माधव नारायण भगवान विष्णुको एक स्वरुप हो। माघ महिनामा नारायणको नाम माधव हुने भएकाले स्वस्थानीसँगै माधव नारायणको व्रत, पूजा र उपासना गरिन्छ। यसमा खासगरी केटा मानिसहरु पनि व्रत बस्ने र पूजा गर्ने गर्दछन्।
शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा समेत गर्ने गर्छन्।
परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ। जसअनुसार व्रतालु शालिनदीबाट बज्रयोगिनी ढोकासम्म अष्ठाङ्ग दण्डवत गर्दै जान्छन्।
यस्तै साँघुबाट व्रतालु बज्रयोगिनी हुँदै पशुपति जाने गर्छन् भने पशुपतिबाट फेरि फर्पिङ बास बस्न पुग्छन्। त्यसको भोलिपल्ट उनीहरु साँखु पुगेर त्यहाँबाट फेरि पनौती बास बस्न पुग्ने प्रचलन छ।
पनौतीबाट फेरि साँखु बास बस्ने गरी व्रतालु फर्कनेछन्। यसरी विभिन्न मितिमा उनीहरु साँखु आसपासको क्षेत्रमा परदेश यात्रा गरेर व्रत पूरा गर्छन्।
वर्तालुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणीखोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका विभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ।