घरेलु मदिराले विकृति फैलाएकाे भन्दै रौतहटमा मदिरा उत्पादन गर्ने ३ वटा भट्टी नष्ट

Break n Links
Break n Links

राैतहटमा प्रहरीले घरेलु मदिरा तथा भट्टीहरू नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका–५ मा रहेको तीनवटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार शनिबार बिहान ७ बजे गएको प्रहरी टोलिले भट्टी नष्ट गर्नुका साथै उत्पादनमा प्रयोग भएका सामन बरामद गरेको छ।

अवैधरुपमा मदिरा उत्पादन गरेकाे भन्दै भट्टीबाट तयारी मदिरा ७ सय लिटर, कच्चा पदार्थ २ हजार ८ सय लिटर, मदिरा बनाउन प्रयोग हुने हण्डा चार थान डिक्चि ८ थान, स्टिलको बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान र चुल्हो  सहितका सामान बरामद गरिएको छ।

बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानीयहरुको रोहवरमा नष्ट गरिएको थियाे। यस कार्यमा संग्लनहरु भागेकाले खोजी भइरहेकोे प्रहरीले बताएकाे छ।

त्यस क्षेत्रमा अवैध रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा  भट्टीहरु नष्ट गरेको जनाइएकाे छ।

प्राय घरेलु मदिराका कारण गाँउ घरमा झैझगडाका घटना हुने गरेकाले मदिरा र भट्टीहरु नष्ट गर्ने अभियानमा प्रहरी सक्रिय भएको प्रहरी निरीक्षक प्रसादले बताए।

घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको प्रहरीको भनाइ छ। गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नगर्न रौतहट प्रहरीले अनुरोध गर्दै आएको छ।

प्रकाशित मिति: : 2025-01-04 18:28:00

प्रतिकृया दिनुहोस्