रौतहट प्रहरीले १६ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यलय रौतहट र मातहतबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो।
रौतहट प्रहरीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार कटहरिया नगरपालिका वडा न १ बस्ने वर्ष ५२ को जितन महतो नुनियालाई पक्राउ गरिएको छ।
प्रहरीले महतोलाई अदालतबाट जारी पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिएको उनले बताए। पक्राउ परेका महतोले २०६५ पुष २४ गते आफ्नै भाइ हरिराम महतो नुनियाकी श्रीमती २२ वर्षीया शारद देवीको हत्या गरी बेपत्ता बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको उल्लेख छ।
रौतहट प्रहरीका अनुसार घटना भएको तेस्रो दिन खेतबारीमा गाडेको अवस्थामा शव फेला परेको थियो। उक्त घटनापछि फरार रहँदै आएका नुनियालाई यही पुष १८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।
पक्राउ परेका नुनियालाई जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।