नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शेरा दरबारको जग्गाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्।
बिहीबार बसेकाे राज्य व्यवस्था समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शेरा दरबार प्रकरणमा दोषी जो कोही भएपनि कारबाही गर्न र त्यसमा सरकारलाई सहयोग गर्न आफू तयार रहेको बताए।
‘शेरा दरबारको विषय सुनेपछि मैले दोषीलाई कारबाही गरियोस्, सरकारलाई म सहयोग गर्न तयार छु भनेर भनेको थिएँ। मलाई धेरै भन्नु छैन। जसरी ललिता निवासको कयौँ रोपनी जग्गा फिर्ता ल्याउन सकियो। त्यसरी नै जग्गा फिर्ता ल्याउन सके म सरकारलाई धन्यवाद भन्नेछु’, उनले भने।
बैठकमा प्रचण्डलाई जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले शेरा दरबारका सम्बन्धमा गम्भीरताका साथ अध्ययन भइरहेको र धन्यवाद दिन तयार हुन आग्रह गरे।
‘शेरा दरबारसम्बन्धी गम्भीरताका साथ अध्ययन भइरहेको छ। कसैको नाममा गैरकानुनी काम भएकाे रहेछ भने सरकारले फिर्ता ल्याउँछ। पूर्वप्रधानमन्त्रीज्यूले धन्यवाद दिन्छु भन्नुभएको छ, धन्यवाद दिन तयार भए हुन्छ’, गृहमन्त्री लेखकले भने।