अज्ञात रोगबाट मुगुमा १०० बढी चौरीहरू मरे

हिमाली जिल्ला मुगुमा अज्ञात रोगबाट चौरी तथा याकहरू धमाधम पर्न थालेपछि किसान चिन्तित भएका छन्।

मुगुम कार्मारोङ्ग गाँउपालिका २ मुगु गाउँमा चौरी तथा याकहरू प्रत्येक घरमा चार-पाँच वटा याक तथा चौरीहरू मरेको स्थानीयले बताएका छन्। 

केही साता यता चौरी र याकहरूमा सुरुमा मुखबाट र्याल निकाल्ने, पातलो हरियो रङ्गको दिशा गर्ने, दिशामा हल्का रगत देखिने, घाँटी घ्यार घ्यार गर्ने, टाउको सुनिने, घाटी सुनिने जस्ता लक्षण देखिने गरेको छ।

यस्तो लक्षण देखिएको २४ घण्टा भित्रमा याक तथा चौरीहरूको मृत्यु हुने गरेको स्थानीय छोर्तेन लामाले बताए। 

गाँउपालिकाको पशु शाखाबाट कर्मचारीहरूले आएर घटनाको जानकारी लिए पनि औषधि उपचार भने अझैसम्म हुन सकेको छैन। उपचारका लागि गाँउपालिका र जिल्लामा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयमा खबर गर्दा पनि कुनै निकायबाट सुनुवाई नभएको लामाले बताए। 

गाउँपालिकासँग भएको जनशक्ति र औषधिले मात्र समस्या समाधान नहुने अवस्था रहेकाे कार्मारोङ्ग गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द रावलले बताए।

चौरीहरूको स्वाप संकलन गरी ल्यापमा परीक्षणमा पठाउनु पर्ने भएकाले त्यसको लागि आवश्यक उपकरण जनशक्ति गाउँपालिकामा नभएकाले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाई सहयोग आग्रह गर्दै पत्र पठाएको उनले जानकारी दिए।

अहिले चिकित्सकको टोली मुगु गाउँतर्फ गइरहेको बताइएको छ। अहिलेसम्म करिब १०० भन्दा बढी पशु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका पशुपंछी विकास तथा उत्पादन शाखा मुगुका प्रमुख धन बहादुर बानियाले बताए।

दान बहादुर बुढा / नेपाल न्यूज बैंक
 

प्रकाशित मिति: : 2024-12-25 08:13:00

प्रतिकृया दिनुहोस्