विश्वमै खेलकुदलाई आर्थिक वृद्धि र पर्यटन विकासको ठूलो माध्यमको रूपमा हेर्ने गरिन्छ। छिमेकी देश भारतमा हुने आइपिएल नेपालका लागि झन बलियो उदाहरण हो। मुलुकको अर्थतन्त्रमा खेलकुद प्रतियोगिताहरुको ठूलो प्रभाव रहने गरेको पाइन्छ।
कीर्तिपुरको त्रिवि खेल मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)मा ठूला व्यापारिक घराना र वित्तिय संस्थाहरुले ठूलो लगानी गरिरहेका छन्। विज्ञापन बजार चम्किएको छ। त्यसै खेल मैदान परिसरमा फुटपात र चिया नास्ताको व्यापारले सामान्य नागरिकहरुको व्यापार उसैगरी मौलाएको छ।
मंसिर १७ बाट सुरु भएको एनपिएलले साना तथा मझौला व्यवसायीहरुलाई राहत मिलेको छ। एनपीएलले भरिएको टियू क्रिकेट मैदानमा मानिसहरुको ध्यान त्यहाँ संचालन भएका खुद्रा पसलले उसैगरी खिचेको छ। क्रिकेट मैदान परिसरमा एनपीएल सुरु भएकै दिनदेखि चिया–चुरोट, चाउमिन–मःम, मिठाइ, बिस्कुट, चाउचाउ, पानी, जुसलगायतका खुद्रा पसलहरुमा व्यापार मौलाएको छ।
अघिपछि ग्राहक नपाएरमा सडक पेटीमा घण्टौं प्रतीक्षा गर्ने सबै फुटपाथ व्यापारीहरु अहिले क्रिकेट मैदानमा भेटिने गरेका छन्। उनीहरुलाई भ्याइनभ्याइ छ। उपभोक्ताहरुको थामिनसक्नु भिड छ। जाडोयामसमेत भएकाले चिया, चुरोट र तातो खाजाको व्यापार खुबै चम्किएको छ।
क्रिकेट मैदान परिसरमा मःम बेच्दै आएका दुर्गा सापकोटा कोभिडले थलिएको व्यापारलाई राहत पुगेको बताउँछन। उनी भन्छन्, ‘एनपिएलबाट एकदम खुसी छु। विदेशी खेलाडीहरु पनि हुनुहुन्छ। अपेक्षा अनुसारकै व्यापार भइरहेको छ। मान्छेहरुको भीड दिनहुँ बढिरहेको छ। कोरानाले आपत परेका होटल व्यवसायीहरुलाई यहाँ व्यापार गर्न दिनु नै ठुलो कुरा हो। राहत मिलेको छ,’ उनले भने।
सापकोटाले दैनिक सरदरमा एक सय पचासदेखि दुईसय प्लेटसम्म मःम बेचिरहेका छन्।
क्रिकेट मैदानमै मट्का चिया बेचिरहेका छन, कक्षा १२ मा पढ्ने भक्तिराज गिरी। गिरीले दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको मट्का चिया बेचिरहेका छन। उनी भन्छन्, ‘बिहानदेखि साँझसम्म राम्रोसँग व्यापार गर्यो भने दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको बिक्री हुन्छ। व्यापर सोचेजस्तै भएको छ। एनपिएललले नाफा गराएको छ। मलाई मात्रै होइन सबैलाई राम्रो भएको छ।’
अघिपछि नेपाल प्रहरी, नेपाल आर्मीको कार्यालय अगाडि बसेर फुटपाथ व्यापार गर्दै आएकी मन्जु तामाङ मर्हजन व्यापार ठिकै भएको सुनाउँछिन। ‘बदाम, चाउचाउ, पानी, चुइगम्म, चकलेटलगायत बेचिरेहेको छु। व्यापार ठिकै छ’, उनले भनिन्।
हुम्लाका गोपाल जेठरा आइतबारदेखि शुक्रवारसम्म अन्य काम गर्छन। तर, एनपिएल सुरु भएदेखि उनी शनिबार–शनिबार टियू मैदानमा बदाम, पानी बेचिरहेका छन। उनी भन्छन, ‘शनिबार मात्रै बेच्छु म चाहिँ। अरु दिन अफिस जान पर्छ। व्यापार राम्रै छ। सामान्य खर्च जुटेको छ।’
ह्यापीडेन्ट चुइन्गमको दैनिक दुईदेखि तीन हजारसम्मको व्यापार गरिरहेकी विनिता निरौला स्टल नै राखेर राम्रो आम्दानी गरिरहेको सुनाउँछिन्। उनी भन्छिन्, ‘हाम्रो सेल्स राम्रै छ। दैनिक दुई देखि तीन हजारसम्मको व्यापार भइरहेको छ।’
एनपिएलले क्रिकेटसँगै व्यापार व्यावसाय पनि चलायमान बनाउन आयोजक क्यानले बताउँदै आएको थियो। एनपीएलबाट एक अर्बको अर्थतन्त्र चलायमान बनाउने आंकलन पनि गरिएको छ।
- सुश्मिता वाँनिया (नेपाल न्यूज बैंक)