यातायात व्यवस्था कार्यालय वीरगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शेष रजाउल हकले प्रदेश सरकारले खटाएको ठाउँमा नगएर सरकारलाई नै चुनौती दिएका छन्।
हक वीरगञ्जमा विगत ३ वर्षदेखि कम्पुटर अपरेटर छैटौँ पदमा कार्यरत रहेका छन्। तीन महिनाको लागि काज सरुवा गरी सो कार्यालय आइपुगेका हक तीन वर्षसम्म हक जमाएर बसेका छन्।
कार्यालय प्रमुखलाई आर्थिक व्यवस्थापन गरिदिएर प्रमुखलाई रिजाएका कारण उनी हालसम्म पनि सोही कार्यालयमा टिकिरहेका निकटवर्तीहरुले बताएका छन्।
काज फिर्ता भइसक्दा पनि उनी कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णको आर्शिवाद पाउँदा सोही कार्यालयमा हााजिर गरिरहेका छन् भने विभिन्न आर्थिक अनियमिततमा पनि मुछिने गरेका छन्।
उनलाई मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले असोज १५ गते नै काज फिर्ता गरिएको पत्र दिइसकेको छ। मन्त्रालयले ‘प.स. ८१९८२ च.न. २८८, मिति २०८१ असोज’ उनलाई लेखेको पत्रमा मन्त्रालयको असोज १४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयमा काज फिर्ता गरिएको उल्लेख गरिएको छ। तर, करिब दुई महिना बितिसक्दा पनि उनी यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट टसमस भएका छैनन्।
उक्त कार्यालयमा कार्यरत एकजना कर्मचारीका अनुसार कम्पुटर अपरेटर हकले कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले भनेबमोजिम आर्थिक संकलनको काम गर्दै आएका छन्। उनले सेवाग्राहीसँग पैसा असुल्ने र सो पैसा कार्यालय प्रमुखसम्म पुराउने गरेका छन्।
आफ्नो आर्थिक व्यवस्थापन भएका कारण कार्यालय प्रमुख कर्णले उनलाई काज फिर्ता नर्गन हर सम्भव प्रयास गरिरहेको जानकारहरु बताउँछन्।
प्रदेश सरकारले सो कार्यालयमा काजमा कार्यरत १० जना कर्मचारीमध्ये आठ जनालाई फिर्ता बोलाए पनि कम्प्युटर अपरेटर हक र खरिदार छेदी मण्डल भने फिर्ता गएका छैनन्। खरिदार मण्डल पनि कार्यालय प्रमुखकै इशारामा आर्थिक अनियमिततामा संलग्न हुने हुँदा उनी पनि कार्यालयमा अड्डा जमाएर बस्न सफल भएका छन्। अन्य आठजना कर्मचारी भने काज फिर्ता भइसकेका छन्।
मधेस प्रदेशकाे श्रम तथा यातायात मन्त्रालयले गत कार्तिक २९ गते सबै यातायात व्यवस्था कार्यालयलाई पत्र लेखी काज फिर्ता भएका कर्मचारीलाई तीन दिनभित्र रमाना दिई मन्त्रालयलाई जानकारी गराउन आदेश दिएको थियो।
सो आदेशको पनि अवज्ञा गर्दै कार्यालय प्रमुख कर्ण हकलाई कुनै पनि हालतमा रमाना नदिने पक्षमा उभिएका हुन्। उनले कम्प्युटर अधिकृत हक र खरिदार मण्डललाई आाफूले रमाना नदिने भन्दै कार्यालमै हाजिर गराइरहेका छन्।
प्रमुखको दुई कर्मचारीहरुप्रतिको आशक्ति देखेर अन्य कर्मचारीहरु चकित परेका छन्। यता, कार्यालय प्रमुख कर्ण प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायको गाउँले भएकाले आाफूले जे पनि गर्न सक्ने भन्दै आएका एक कर्मचारीले बताए।
कर्णले कार्यालयमा व्यापक भष्टाचार गरिरहेको भन्दै सेवाग्राहीहरुले सो रकम मन्त्रीसम्मै पुग्ने आशंका गरेका छन्। कम्प्युटर अपरेटर शेष रजाउल हक र खरिदार छेदी मण्डल नियमित रुपमा कार्यकक्षमा नभेटिने गरेको सेवाग्राहीहरूको गुनासो छ।
उनीहरुलाई कार्यालय प्रमुखले नै कार्यकक्षमा नबसी बिचौलियाहरुसँग साँठगाँठ गर्न खटाउने गरेको उनीहरुको आरोप छ। यातायात व्यवस्था कार्यालय वीरगञ्जमा भेटिएका सेवाग्राही प्रश्न गर्छन्, यो देशमा सरकारभन्दा एउटा भ्रष्ट कर्मचारी ठुलो रहेछ?