चीनका केही प्रान्तमा हिउँपरेपछि पर्यटकहरुको उपस्थिति बाक्लिएको छ। हिउँद ऋतुमा हिउँ पर्ने भएपछि त्यहाँका ट्राभल्स कम्पनीले सोही अनुसारको प्याकेजहरु बनाएर पर्यटक घुमाइरहेका छन्।
चीनले सन् २०२२ मा शीतकालीन ओलम्पिकको आयोजना गरेपछि शीतकालीन खेलकुदप्रति आकर्षणसमेत बढिरहेको छ। हिउँमा खेल्न सकिने खेलप्रति पर्यटकहरुको आगमन बाक्लिएको छ।
यही ऋतुमा उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा हिउँसँग सम्बन्धित खेलमा रमाउनेहरुको उल्लेख्य उपस्थिति देखिन्छ। स्की रिसोर्टहरू, होम स्टे र होटलहरुमा पर्यटक खचाखच छन्।
खेलकुद र साहसिक पर्यटनको लागि विश्वव्यापी हब बनाउने तयारीमा रहेको चीनले बरफ र हिउँको अर्थतन्त्र बढाउने महत्वाकांक्षी योजनाको समेत बनाइरहेको जनाएको छ।
त्यस्तै, उत्तरपश्चिमी चीनको सिन्जियाङको अल्टेमा पनि स्की खेलका पारखीहरुको उत्तिकै भीड देखिन्छ। त्यहाँ नयाँ हिउँ सिजनमा कुल १ करोड ४० लाख पर्यटक आउने अपेक्षा गरिएको छ।
सन् २०२२ मा शीतकालीन ओलम्पिक भएको स्थानमा पनि यस बर्ष पर्यटकहरुको संख्याले नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ। चीनले सन् २०३० सम्ममा १.५ ट्रिलियन युआन मूल्यमा बरफ र हिउँको माध्यमबाट आर्थिक वृद्धिको लक्ष्य लिएको छ।