भ्रष्टाचारविरुद्ध लड्न मधेसी जनता तयार छ: आजपा

File Photo
File Photo

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ पूर्णरुपमा सफल भएको बताउँदै छिटै नै अन्य प्रदेशमा समेत अभियान सञ्चालन गर्ने उद्घोष गरेका छन्।

आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचारविरुद्ध मधेस यात्रा’ अभियानको समापन गर्दै उनले भ्रष्टाचारविरुद्ध लड्न मधेस तयार रहेको बताए।

पूर्णरुपमा सफल भएको भ्रष्टाचारविरुद्धको अभियान अब छिटै नै अन्य प्रदेशहरुमा समेत हुने उनले बताए।

आजपा अध्यक्ष साहको प्रमुख आथित्यमा सम्पन्न भएको अभियान भव्यरुपमा सम्पन्न भएको पार्टीको निष्कर्ष रहेको छ। अभियानमा बढ्दै गएको जनसहभागिताबाट उत्साही आजपाले भ्रष्टाचारीलाई जनकारवाही गर्नुपर्ने जनाएको छ।

भ्रष्टाचारी, लुटेरहरुले मुलुकको ढुकुटी सिध्याएको, नेपाली जनतामाथि ऋण थोपारेको, मनोमानी कर बढाएकाले जनतामा जनचेतना जगाउन यस्तो अभियानको आवश्यकता रहेको आजपाको बुझाइरहेको छ।

मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगीविरुद्ध आजपाले यात्राको क्रममा आवाज उठाएको छ।

आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, वैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आवाज उठाउदै स्थानीय, सर्वसधारण एवं सरोकारवालाहरुसंग छलफलसमेत यात्राको क्रममा गरेको छ।

आजपा प्रवक्ता एवं उपमहासचिव चन्द्रभुषण साहका अनुसार भ्रष्टाचारविरुद्धको मधेस यात्रा कार्यक्रम सप्तरीबाट सुरु भएर पर्सा पुगेर समापन भएको हो।

सप्तरीको राजविराजबाट सुरु भएको यात्रा पर्साको निचुटा पुगेर आमसभा गर्दै सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको भ्रष्टाचारविरुद्धको मधेस यात्रा कार्यक्रम १ मंसिरमा सुरु भई ५ मंसिरमा सम्पन्न भएको छ।

भ्रष्टाचारविरुद्ध मधेसमा अभियान र सोही दिन काठमाडौँमा तीनै तहको सरकारको मनोमानी करविरुद्ध विरोध प्रदर्शन आजपाले गरेको थियो।

मधेस र काठमाडौँमा एकै दिन छुटाछुटै दुई कार्यक्रम सम्पन्न गरेको आजपाले छिटै नै अन्य प्रदेशमा समेत विशेष अभियान सञ्चालन गर्ने तयारीमा रहेको छ। 

प्रकाशित मिति: : 2024-11-21 15:24:00

प्रतिकृया दिनुहोस्