प्रेस काउन्सिलले भन्याे- मत सर्वेक्षण नगर्नू

प्रेस काउन्सिल नेपालले यही मङ्सिर १६ गते हुन लागेकाे उपनिर्वाचनअघि नै मत सर्वेक्षण र त्यसकाे नतिजा निर्वाचनअघि नै प्रकाशन जस्ता कार्य नगर्न आग्रह गरेकाे छ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले यस्ताे आग्रह गरेकाे हाे।

काउन्सिलले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहिता, २०७९काे मापदण्डलाई उदृत गर्दै मत सर्वेक्षण र त्यसकाे प्रकाशनकाे मापदण्डलाई स्मरण गराएकाे छ।

‘मत सर्वेक्षणका सम्बन्धमा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) मा 'पत्रकार तथा सञ्चार माध्यमले कुनै पनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि उल्लेख गर्नुपर्ने, यस्तो मत सर्वेक्षण गर्दा सर्वेक्षणको प्रायोजक, औचित्य र पृष्ठभूमिजस्ता विषय खुलाइ प्रस्तुत गर्नुपर्ने' व्यवस्था छ भने निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा 'उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा वा प्रकाशन गर्न नहुने' भन्ने व्यवस्था रहेको छ’, काउन्सिलले भनेकाे छ।

निर्वाचनको सन्दर्भमा पत्रकार तथा आमसञ्चार माध्यमबाट पत्रकार आचारसंहिता पालना भए/नभएको विषयमा प्रेस काउन्सिल नेपालले अनुगमन गरिरहेको पनि काउन्सिलले जानकारी गराएकाे छ। मङ्सिर १६ गते ३३ जिल्लाका ४४ स्थानीय तहमा उपनिर्वाचन सम्पन्न हुँदैछ।

प्रकाशित मिति: : 2024-11-21 13:59:00

प्रतिकृया दिनुहोस्