प्युठानबाट निर्वाचित एमाले सांसद सूर्य थापाले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सिंहदरबारमै भेटेर जिल्लाकाे पूर्वाधार विकासबारे ध्यानाकर्षण गराएका छन्।
उनले भालुबाङ-प्युठान सडक, बाग्दुला-भिमगिठे सडक र मदन भण्डारी राजमार्ग (सौतामारे-मच्छी तथा गोखुङ्गा- खरिबोट- बाग्दुला दुबै खण्ड) तथा अन्य विकास पूर्वाधारको सम्बन्धमा अर्थमन्त्रीसँग महत्त्वपूर्ण छलफल भएकाे जनाएका छन्।
उक्त अवसरमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, मदन भण्डारी राजमार्ग आयोजना प्रमुख दीप बाराही र बाग्दुला-भिमगिठे सडक आयोजना प्रमुख थानेश्वर खत्रीलगायतको उपस्थिति रहेको थियो।
सांसद थापाले जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग मन्त्रालयमा भेटेर प्युठान नगरपालिका ९ र १० को विपद्ले गरेको क्षतिको पुनर्निर्माण एवं वायो इन्जिनियरिङ टिम पठाउने र नौमुरे जलविद्युत आयोजनाको आयोजना कार्यालय सरूमारानी गापा-१ बाङ्गेसालमा स्थापना गर्न विशेष ध्यानाकर्षण गराएका हुन्।
त्यस्तै, नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा प्रमुख मनोज सिलवाललाई भेटेर दम्ती सवस्टेसन सञ्चालनमा ल्याउन गरेको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै स्याउलीबाङ र रजबारामा बाँकी विद्युतीकरण आउँदो मंसिर १५ भित्र सम्पन्न गरिसक्ने गरी अघि बढाउन र स्वर्गद्वारी आश्रम एवं धरमपानी प्रवेशद्वारसहित आसपासका क्षेत्रसम्म 'विशेष उज्यालो' कार्यक्रम सम्पन्न गर्न पनि जोड गरिएको छ।