‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१’ सम्पन्न, तीन सय बढीकाे उद्धार

Break n Links
Break n Links

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त प्रयासमा ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाका साथ सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा- २०८१ सम्पन्न भएको छ। सोमबार एक विशेष समारोहकाबीच उक्त उद्धार यात्रा  २०८१को ३८औँ दिनमा आएर समापन भएको हो।

बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गरिएको थियो।

असोज २७ देखि मङ्सिर ३ सम्म पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ४६ जिल्ला तथा बागमती र गण्डकी प्रदेशका केही जिल्लालाई लक्षित गरी अभियान सञ्चालन गरिएको थियो।

विगत वर्षहरुमा पुस/माघको जाडो याममा सञ्चालन गरिने गरेको यस किसिमको अभियान यसपटक नेपालीको मुख्य चाडहरुलाई लक्षित गरी सञ्चालन गरिएको हो। अभियानमा करिब तीन सय जनाको उद्धार गरिएको वरिष्ठ समाजसेवी आनी छोइङ डोल्माले बताइन्।

उनले भनिन्, ‘मानव सेवाभन्दा अर्को महान धर्म केही छैन। मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाजसेवा नै हो। सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक हुने रहनेछन्।’

साथै उनले सडकमा रहेका बालबालिकाहरुको लागि सरकारले  अभिभावोकत्व निभाउन जरुरी रहेको बताइन्।

मानवसेवा आश्रम देशका सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्रहरु रहेका छन्। ती केन्द्रहरुबाट हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ र हाल १६ सय जना संरक्षणमा रहेका छन्। तीमध्ये करिब सय बालबालिका छन् भने एक हजार मानसिक समस्या भएका व्यक्ति छन्।

प्रकाशित मिति: : 2024-11-18 20:34:00

प्रतिकृया दिनुहोस्