कारवाहीकाे माग गर्दै मन्त्री पाण्डेले दिए आफ्नै पार्टीका सांसदविरुद्ध उजुरी

Break n Links
Break n Links

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै उजुरी दिएका छन्।

मन्त्री पाण्डेले पार्टी केन्द्रीय अनुशासन समिति तथा संसदीय दलमा सांसद बजगाईंविरुद्ध उजुरी दिएका हुन्।

कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने पर्यटन व्यवसायीसमेत रहेका बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृखलावद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरुमा कुप्रचार गर्दै आएको पाण्डेले उजुरीमा उल्लेख गरेका छन्।

‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भिर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाइ इमान र निष्ठाको उपहास हुनेछ’, उजुरीमा भनिएको छ।

बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जलमा पोस्ट गरेपछि त्यसलाई लिएर केही अनलाइनहरुले समाचार प्रकाशित भएका थिए।

सोसम्बन्धी समाचार सार्वजनिक भएलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाईंले पाण्डेविरुद्धका सबै पोस्टहरु केही घण्टापछि नै सामाजिक सञ्जालबाट हटाएका थिए।

‘मन्त्रीको सपथ ग्रहण भएको मितिदेखि श्रृङ्खलाबद्ध रुपमा मन्त्रालयको कामकारवाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस/रिसवत जस्तो गम्भीर आरोप लगाई, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचारण र ख्यातिमा दोष लगाउने जस्ता कलुसित, अमर्यादित र गैर कानुनी कार्य गरी आउनुभएको छ। यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्याएको छ’, उनले भनेका छन्।

उजुरीमा भनिएको छ,‘म आफ्नो व्यक्तिगत र राजनीतिक जीवनलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलित रूपमा अगाडि बढाइरहेको छु। नेपाली कांग्रेस पार्टी र शीर्ष नेतृत्वले देखाएको त्याग समर्पण र नैतिकताको बाटोको पदचिहलाई पछ्याउँदै आफ्नो राजनीतिक यात्रामा आफूलाई समर्पित गरिरहेको छु।’

मन्त्री पाण्डेले बजगाईंका गैरकानुनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धती मर्यादा, कानुन र अनुशासनको समेत गम्भीर उलङ्घन गरेको उल्लेख गरेका छन्।

‘मेरो निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन दृढ सङ्कल्पित छु। माननीय बजगाईंका अवाञ्छित अराजक र गैरकानुनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धति मर्यादा, कानुन र अनुशासनको समेत गम्भीर उलङ्घन गरेको छ’, उनले भनेका छन्। ।

बजगाईंलाई कारवाही गर्न माग गर्दै मन्त्री पाण्डेले भने, ‘प्रतिनिधिसभा सदस्यले पदीय मर्यादा र गरिमा समेतको ख्याल नगरी मिति २०८१ कात्तिक २७ गते आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल ट्विटर (एक्स) र फेसबुक मार्फत निन्दनीय भाषामा लगाएको आधारहीन फरेवपूर्ण कलुषित तथा गैरकानुनी आरोपलाई चुनौती दिँदै सत्यतथ्यको उजागर गराई, यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैरकानुनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारवाही गरिदिनु हुन अनुरोध गर्दछु।’

प्रकाशित मिति: : 2024-11-15 12:17:00

प्रतिकृया दिनुहोस्