सामाजिक सञ्जालमा मर्यादित र जिम्मेवार सामग्री सम्प्रेषण गर्न प्रेस काउन्सिलको अपिल

फाइल तस्बिर
फाइल तस्बिर

प्रेस काउन्सिल नेपालले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सम्प्रेषित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण गर्दै जिम्मेवार र मर्यादित सामग्री प्रकाशन गर्न विशेष अपिल गरेको छ। काउन्सिलले विशेषगरी युट्युब च्यानल र फेसबुक पेजहरूबाट सञ्चार माध्यममा वितृष्णा फैलाउने तथा अमर्यादित सामग्री प्रकाशन भइरहेको भन्दै त्यसप्रति कडा कदम चाल्ने चेतावनी दिएको छ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जनविश्वास हासिल गर्नका लागि सत्य र सन्तुलित सामग्री मात्र प्रवाह गर्न आग्रह गरेका छन्। उनले भने, ‘आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ। सामाजिक सञ्जालहरू पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका भ्रमहरू आफैँ हट्‌दै जानेछन्।’

प्रेस काउन्सिलले अमर्यादित र अशिष्ट सामग्रीले समाजमा अन्योल सिर्जना गरिरहेको बताउँदै त्यसलाई निरुत्साहित गर्न र कानूनको पालना गराउनका लागि साइबर ब्युरोसँग समन्वय गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ। यसैगरी, विज्ञापन प्राप्तिका लागि ‘बार्गेनिङ’ गर्ने, दबाब दिने, तथ्यहीन र अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने गतिविधि तत्काल रोक्न सम्बन्धित सबैलाई सचेत गराइएको छ।

सामाजिक सञ्जालले आमसञ्चार माध्यमझैँ संचालक र कार्यालय ठेगानासहितको विवरण खुलाउनुपर्ने नियम पालना नगरेमा कानुनी कारबाहीका लागि पत्राचार गरिने पनि काउन्सिलले जनाएको छ। प्रेस स्वतन्त्रतालाई सम्मान गर्दै मर्यादित र जिम्मेवार पत्रकारिताको सुनिश्चितताका लागि काउन्सिलले नियमावली बनाउँदै यसको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रेस काउन्सिलले मिडिया र सामाजिक सञ्जालमार्फत सम्प्रेषण हुने सामग्रीको विश्वसनीयता र मर्यादित पत्रकारिताका लागि कानुनी र नैतिक आचारसंहिताको पालना गर्न पुनः आग्रह गरेको छ।

प्रकाशित मिति: : 2024-11-12 20:09:00

प्रतिकृया दिनुहोस्