करिब ८ अर्ब बक्याैता नबुझाएपछि दुई दर्जन बढी उद्याेगमा काटिएकाे बिजुली जडान गर्ने कि नगर्ने भन्नेमा नेपाल विद्युत प्राधिकरण उर्जामन्त्रालयकाे पत्र कुरेर बसेकाे छ। आइतबार मन्त्रिपरिषद्को बैठकले कार्तिक ८ गते उद्याेगमा काटिएकाे बिजुली २४ घण्टाभित्र जडान गर्ने निर्णय गरेकाे थियाे।
तर उक्त निर्णयकाे पत्र प्राधिकरणलाई प्राप्त भइसकेकाे छैन। ‘हामीले सञ्चारमाध्यमबाट बिजुली जाेड्ने विषय सुनेका छाैँ। तर अहिलेसम्म पत्र आइसकेकाे छैन’, नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बिएल नेपाली सेवासँग भने।
उनले उर्जामन्त्रालयबाट मन्त्रिपरिषद्को निर्णयसहितकाे उद्माेगमा बिजुली जडानका लागि निर्देशनसहितकाे पत्र आएमा त्यसपछि प्राधिकरणले निर्णय लिने बताए।
उर्जा मन्त्रालयकाे पत्र आउँदैमा लाइन जडान गरिहाल्ने विषय नभएकाे प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाले बताए। ‘बिजुली काट्ने र जडान गर्ने प्रकृया छ। मन्त्रिपरिषद्को निर्णयले मात्र हुँदैन। प्राधिकरण सञ्चालक समितले जे निर्णय गर्छ, प्राधिकरणले त्याे निर्णय मान्छ’, उनले भने।
यता उर्जा मन्त्रालयमा भने मन्त्रिपरिषद्को निर्णय आइसकेकाे छैन। जसले गर्दा प्राधिकरणलाई पत्र लेख्न नसकिएकाे मन्त्रालयका सूचना अधिकारी राजु महर्जनले बताए।
‘प्राधिकरणलाई अहिलेसम्म बिजुली जडानका लागि पत्र लेखिएकाे छैन। मन्त्रिपरिषद्को निर्णय आएपछि हामीले पत्र लेखेर प्राधिकरणलाई पठाउँछौँ’, उनले भने।