पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउने बताएका छन्।
छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत छठ पर्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
साथै प्रचण्डले नेपालका विविध संस्कृति र पर्वहरु क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएको बताए।
‘मानव जीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारहरूको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आराधना गरी छठ पर्वको परम्परा सुरुवात भएको मानिन्छ। छठ पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित छ। यस पर्वले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ। नेपालका विविध संस्कृति र पर्वहरु क्रमशः सम्पूर्ण नेपालीका साझा संस्कृति र परम्परा बन्दै गएका छन्। छठ पर्व पनि सम्पूर्ण नेपालीहरुकै आम पर्वको रुपमा मनाउन थालिएको छ,’ उनको शुभकामनाको सन्देशमा उल्लेख छ।
छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्नसबैलाई प्रेरणा मिल्ने विश्वास प्रचण्डको छ।