हरेक कार्यकालमा कुनै न कुनै ‘संकट’ ब्यहोर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो ‘इनिङ’को पहिलो सुरुवात पनि त्यतिधेरै उत्साहपूर्ण हुन सकेन। त्रिशुली ६५ जनाभन्दा बढी नागरिक बग्दैगर्दा एकप्रकारले देशले नै ‘जुठो’ बारेको थियो। त्यस्तो अवस्थामा चलिरहेको सरकार ढालेर दुई ठूला दल काँग्रेस र एमाले मिलेर सरकार बनाए। र त्यसको पहिलो चरणको नेतृत्व ओलीले गरिरहेका छन्। सबै कुरा सहिसलामत भए यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन्।
१०० दिनको डिलमा आइपुग्दा वर्षा अनि बाढी र पहिराबाट देशले जनधनको ठूलै क्षति व्यहोर्नुपर्यो। आपतकालीन अवस्थामा सरकारको भूमिकामाथि उठेका प्रश्नहरूलाई बेसुरा जवाफ दिएर तर्किरहेका ओलीले आफ्नो १०० दिने कार्यकाललाई आफैले ७० नम्बर दाबी गरे। यद्यपि उनले सुनाएका नियमित कामका फेहरिस्तलाई एकछेउमा राख्ने हो भने १०० दिनमा सयथरि चकचकी र १०० थरि विवादहरूबाहेक सरकारसँग देखाउन मिल्ने अर्थोक केही छैन।
योबीचमा सहकारी ठगीमा संलग्नलाई कारबाही अभियान चलाएको ओली सरकारसँग त्यो बाहेक ‘पब्लिक सेन्टिमेन्ट’का काम अरु केही भएनन्। त्यही पनि ‘राजनीतिक प्रतिशोध’को आरोपमा विरोध खेपिरहेको छ। खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि संसदको चौथो ठूलो दल रास्वपा अहिले सडक आन्दोलनमा छ। प्रतिपक्षमा रहेको नेकपा माओवादीले पनि सडक आन्दोलन सुरुवात गरिसकेको छ। तिहारलगत्तै राप्रपाले देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
२०७२ साल असोज ३ गते संविधान जारी भइसकेपछि पहिलोपटक केपी ओली प्रधानमन्त्री हुँदा भूकम्पले छोडिगएका आला घाउहरू उस्तै थिए। त्यसैमाथि संविधान नस्वीकारेको मधेसवादी दलहरूको विरोधको बाहानामा नेपालले भारतीय नाकाबन्दीको मार खेपिरहेको थियो। त्यस्तो अवस्थामा उनले पहिलो कार्यकाल धाने। त्यसपछि २०७४ सालमा उनी ‘नेकपा’को बहुमत लिएर प्रधानमन्त्री भए। त्यो बेला उनले आफ्नै पार्टीभित्रको भाँडभैलो सम्हाल्न सकेनन्। पार्टी नै टुक्राटुक्रा भयो। प्रतिनिधिसभा विघटन गर्ने असफल प्रयास गर्दागर्दै उनलाई सर्वोच्च अदालतले नै अपदस्त गरिदियो। २०७९ को चुनावपछि एमाले दोस्रो दल बन्यो। तेस्रो दलको हैसियतमा रहेको माओवादीलाई अघि सारेर उनले पहिलो दल नेपाली काँग्रेसलाई साइड लगाए। रवि लामिछानेलाई काखी च्यापेर उनी माओवादीको सहयात्री बने। योबीचमा उनले सरकार ढाल्ने बनाउने खेलमा लागिरहे। र, अहिले फेरि सबलाई पाखा लगाएर पहिलो दल नेपाली काँग्रेसको सहायतामा अहिले ओलीले सत्ता नेतृत्व गरिरहेका छन्।
यो उनको कार्यकाल पनि विरोधैविरोधबाट सुरु भयो। सरकार ढाल्नका लागि जालझेलपूर्ण समझदारी गरेको भनेर उनले विरोध खेप्नुपर्यो। तर यसपालि भने ओली त्यतिधेरै बोलिरहेका छैनन्। सरकारले बिताएका १०० दिनको समीक्षा र प्रगती सुनाउँदा पनि उनी त्यतिधेरै डिफेन्सिभ भएनन्। प्रतिपक्षलाई सरकार ढाल्ने सपना नदेख्न भनेर चेतावनीबाहेक उनी त्यति कडारुपमा प्रस्तुत भएनन्। यद्यपि उनले अरु सार्वजनिक कार्यक्रममार्फत उनले भने प्रतिपक्षलाई डायलग हानिरहेका हुन्छन्। तर पहिलाको तुलनामा अलि कम र थोरै नरमरुपमा।
प्रधानमन्त्री ओलीले आइतबार एकै दिन तीनवटा सार्वजनिक कार्यक्रमहरूमा उद्घाटन र सम्बोधन गरे। ति सबै कार्यक्रमहरूमा उनले प्रतिपक्षलाई मुखभरिको जवाफ दिन भ्याएका छन्।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयमा भएको एउटा गोष्ठीमा ओलीले सरकारलाई अलोकप्रिय भनेकोप्रति चित्त दुखाए। र,उनले त्यस्तो हल्ला चलाउनेहरूलाई चेतावनी पनि दिए। सरकारको बारेमा त्यस्ता ‘नेगेटिभ न्यारेटिभ’ बनाउनेहरूलाई उनले ‘भाडा’का मान्छेहरू पनि भने।
‘भाडामा खटाइएकाहरुले केपी ओलीको साख घट्यो भन्ने सक्छन् सचेत जनतालाई थाहाँ छ कि हामी कति लोकप्रिय हौँ भन्ने, ओलीको साख घटेको भन्नेहरूले २०८४ को निर्वाचनमा हेरुन्। लोकतन्त्र भनेको छाडातन्त्र होइन, सिंहदरबार वा बालुवाटार कब्जा गर्छौं, चुट्छौँ, मार्छौं, काट्छौँ भन्नु छाडातन्त्र हो’ उनले भने ‘यस्ता क्रियाकलाप सैह्य हुँदैन।’
त्यसपछि गैरआवासीय नेपालीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि उनले प्रतिपक्षलाई त्यस्तै भाषा प्रयोग गरे। त्यहाँ उनले खासगरी सरकारविरुद्ध सडक आन्दोलन सुरु गरेको नेकपा माओवादीलाई बन्दुकको धाक नलगाउन भनेर चेचावनी दिए।
‘हिँजो एकजना उफ्री-उफ्री भाषण गर्दै थिए। हिजो मात्रै देख्या थें। हतियार बिसाएको मात्रै हो भ्रम नरहोस्। चलाउन बिर्स्या छैन, त्यस्तै त्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने’ उनले भने। म त्यसलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ। हामी चलाउन त चलाउँदैनौं तर बिसाउन लगाउन जानेको छौं।’