रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ।

शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडिया प्रा.लि.लगायतको रकम दुरुपयोगको अभियोग छ।

शनिबार बिहन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाएको छ। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।

उनीमाथि प्रहरीले सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान गर्ने जानकारी दिएको छ। सङ्गठित अपराधको सोही प्रकरणमा यसअघि नै पक्राउ परेका छविलाल जोशीसँगै लामिछानेको अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ।

सङ्गठित अपराधको अनुसन्धान गर्न ६० दिनको अवधि पाइने कानुनी व्यवस्था रहेको छ। यद्यपि, गत असोज ६ गते पक्राउ परेका जोशीले २७ दिन थुनामा बसिसकेको हुँदा उनीसँगै लामिछानेको अनुसन्धान पनि ३३ दिनमै सक्ने गरी प्रहरीले तयारी गरेको बताइएको छ।

सहकारी रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बनेको संसदीय छानबिन विषेश समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।

प्रकाशित मिति: : 2024-10-19 10:00:00

प्रतिकृया दिनुहोस्