संघाइ सहयोग संगठनको २३ औं समिटमा सुरु भएको छ। यसको आयोजक राष्ट्र पाकिस्तान हो। र यसमा भाग लिनका लागि भारतीय विदेशमन्त्री एस जय शंकर पनि यतिबेला पाकिस्तानमा छन्। स्थापनाकालदेखि नै भारत पाकिस्तानबीच तनाव छ।
यद्यपि भारतीय विदेशमन्त्रीको यो ‘द्वीपक्षीय’ भ्रमण होइन तर भारत र पाकिस्तानका सञ्चारमाध्यमहरूले सम्लेन भन्दा पनि भारतीय विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ चर्चापरिचर्चा गरिरहेका छन्।
लगभग एक दशकपछि भारतीय विदेशमन्त्रीले पाकिस्तानी भूमिमा पाइला राखेका हुन्। यसअघि २०१५ मा तत्कालीन विदेशमन्त्री सुस्मा स्वराज पाकिस्तान गएकी थिइन्।
यद्यपि एस जयशंकरले यो भ्रमण विशुद्ध एउटा कुनै समिटमा भाग लिनका लागि भएको र पाकिस्तानसँग कुनै द्वीपक्षीय वार्ता वा कुनै भेटघाट नहुने स्पष्ट पारिसकेका छन्। तर समिटको कार्यतालिकामा ‘साइडलाइन वार्ता’ पनि राखिएको छ।
पाकिस्तान पुगेका भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तानका प्रधानमन्त्री सहवाज शरीफले आयोजना गरेको डिनर पार्टीमा सहभागी भएका थिए। त्यो बेला प्रधानमन्त्री सहवाजले विदेशमन्त्री जयशंकरलाई स्वागत गरेका थिए।
दुवैजनाले कसिलोसँग हात मिलाए। अनि २० सेकेन्डसम्म खासखुस गरे। यसलाई पाकिस्तानका सञ्चारमाध्यमहरूले निकै महत्व दिएका छन र लेखेका छन् ’१० वर्षको मौनतापछि भारत-पाकिस्तानबीच २० सेकेन्ड वार्ता…।’
पाकिस्तानका विदेशमन्त्री इस्हाक डारले भारतीय विदेशमन्त्रीसँग द्वीपक्षीय भेटघाट वा वार्ताबारे कुनै योजना नभएको बताएका छन्।
‘अहिलेसम्म भारतले पनि त्यसका लागि अनुरोध गरेको छैन र पाकिस्तानले पनि त्यस्तो इच्छा व्यक्त गरेको छैन’ उनले भनेका थिए सम्मेलनअघि पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए ‘तर भारतले चाह्यो वा अनुरोध गर्यो भने त्यसबारे विचार गर्न सकिन्छ।’ उनका अनुसार सम्मेलनमा आउने अरु पाहुनालाई जस्तै भारतीय प्रतिनिधिलाई पनि स्वागत गरिनेछ।
यो समिटको लागि पाकिस्तानको राजधानी इस्लामावादलगायत मुख्य सहरहरूलाई झिलिमिलि पारिएको छ र सहरको सुरक्षाका लागि त्यहाँको राष्ट्रिय सेनालाई खटाइएको छ।
के हो संघाइ सहयोग संगठन
संघाइ कोअपरेसन अर्गनाइजेसन (एससिओ) अर्थात् संघाइ सहयोग संगठनको स्थापना सन् २००१मा भएको हो। चीन र रुसले स्थापना गरेको फोरममा अहिले भारत र पाकिस्तानसहित काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, उज्बेकिस्तान र इराक पनि छन्।
यो संगठनमा विश्वमा सबैभन्दा धेरै आवादी भएका दुई ठूला देशहरू भारत र चीन भएका कारण यसमा विश्व लगभग ४० प्रतिशत जनसंख्याको हिस्सा भएको संगठन पनि मानिन्छ। २०१७ सम्म पाकिस्तानलाई पर्यवेक्षकका रुपमा मात्रै राखिएको थियो। त्यसपछि उसलाई यो संगठनको पूर्णकालीन सदस्य दिइयो। अहिले संगठनको वार्षिक सम्मेलनको आयोजक नै पाकिस्तान भएको छ। यो सम्मेलनमा सदस्य राष्ट्रहरू तथा उसका सरकार प्रमुखहरू सहभागी हुन्छन्।
परमाणु हतियारको सुरक्षा संगठनका रुपमा स्थापित यो संगठनको मुख्य उद्देश्य रुस, चीन तथा मध्य एशियाका देशहरूबीच सुरक्षा र स्थिरता कायम गर्नु थियो। २०१७ मा भारत तथा पाकिस्तानलाई पूर्णकालीन सदस्यता दिएसँगै अफगानिस्तानलाई समेत पर्यवेक्षककारुपमा स्वीकार गरिएपछि यो संगठनको दायरा पनि विस्तार भएको छ। इरानलाई समेत सदस्य राष्ट्रमा समाहित गरेपछि अब यो एससिओको ध्यान आतंकवाद, उग्रवाद तथा लागुपदार्थको तस्करीजस्ता साझा समस्याहरूमाथि गहिरिएको छ।
कुटनीतिक तथा सामरिक सुरक्षाविज्ञहरूले अब एसओसीलाई पश्चिमी राष्ट्रहरूको सहयोग संगठन ‘नेटो’जस्ता सैन्य साझेदारी संगठनहरूलाई ‘काउन्टर’ दिन थालेको बताउँछन्।
विश्लेषक आमिर जिया भन्छन् ‘भलै यो संगठनको ढाँचा नेटोभन्दा अलग छ। यसको सैनिक क्षमता निकै सिमित छ। तर पनि यस्तो देखिन्छ कि संघाइ सहयोग संगठनले नेटोलाई काउन्टर दिनुभन्दा पनि उसलाई सन्तुलनमा राख्न खोजिरहेको छ।’
सुरक्षा तथा आर्थिक व्यवस्थाका लागि बनाइएका शक्तिशाली राष्ट्रहरूको धेरै त्यस्ता संगठनहरू छन् जस्तो कि जी-७, जी-२०, नेटो, क्वाड इत्यादि।