राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको संसदीय टोली जेनेभा प्रस्थान

अन्तर-व्यवस्थापिका संघ (आइपियू)को १४९औँ महासभामा भाग लिन राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको संसदीय प्रतिनिधिमण्डल स्वीट्जरल्यान्डको जेनेभातर्फ लागेको छ।

गएराति (शुक्रबार) अध्यक्ष दाहालको नेतृत्वमा संघीय संसद्को ९ सदस्यीय टोली आइपियू महासभामा भाग लिन जेनेभा प्रस्थान गरेको हो।

असोज २७ देखि कार्तिक १ गतेसम्म चल्ने आइपियूको १४९औँ महासभामा सहभागी हुने नेपाली संसदीय प्रतिनिधिमण्डलमा राष्ट्रियसभा अध्यक्ष दाहालको नेतृत्वमा प्रतिनिधिसभा सदस्यहरू सुनिता बराल र निशा डाँगी तथा राष्ट्रियसभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल सहभागी छन्। त्यसैगरी संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा पनि प्रतिनिधिमण्डलमा छन्।

आइपियूको महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभा सदस्यद्वय सुनिता बराल र निशा डाँगीले ‘फोरम अफ योङ पार्लियामेन्टेरियन’ र ‘फोरम अफ वूमन पार्लियामेन्टेरियन’मा सहभागीता जनाउने छन्।

अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवम् अन्तर-व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल कार्तिक ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2024-10-12 08:44:00

प्रतिकृया दिनुहोस्