बिहानैदेखि झरी, काठमाडौंका नदी-खोला बढ्न थाले

काठमाडौंलगायत देशभरका विभिन्न भागहरूमा अहिले पनि वर्षा भइरहेको छ। यसअघि नै जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान महाशाखाले बुधबार र बिहीबार वर्षा हुने भन्दै सचेत गराएको थियो। 

बिहीबार बिहानैदेखि झरी लागेपछि काठमाडौं उपत्यकाका विभिन्न नदीखोलाहरूमा बाढी देखिन सुरु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारामा सावधानी अपनाउन भनेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी परिरहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भएर केही स्थानमा वर्षा भइरहेको छ । केही स्थानमा भने मौसम सफा छ।

कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेश प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावा–हुरीसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

विभागले आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ। 

असोज ११ र १२ गते पनि देशभरि मुसलधारे वर्षा भएको थियो। अहिलेसम्म बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ र २२ जना अझै हराइरहेका छन्। तीमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा शवहरू भेटिएका थिए।  
 

प्रकाशित मिति: : 2024-10-03 07:52:00

प्रतिकृया दिनुहोस्