भारतबाट पक्राउ परेका ढाेरपाटनका मेयरलाई काठमाडाैँ ल्याएर बागलुङ पठाइयाे

सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको छ।

भारतको नयाँ दिल्लीमा पक्राउ परेका नेपालीलाई शनिबार ल्याइएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई आइतबार बाग्लुङ पठाइएको जानकारी दिएको छ। प्रहरीले नेपालीका दाजु ओमप्रसाद दर्जीलाई पनि पक्राउ गरेर बाग्लुङ पठाएको जनाएको छ।

नेपाली फरार भएपछि २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो।

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए। यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए।

उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन्। उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ।

उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

नेपाली ०७९को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2024-09-29 15:06:00

प्रतिकृया दिनुहोस्