दलहरुमा लोकतन्त्रप्रति उदासिनता देखियाे: अग्नि सापकोटा

Break n Links
Break n Links

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले अहिले पार्टीहरुमा लोकतन्त्रप्रतिको उदासिनता देखिएको बताएका छन्।

बिहीबार नेपाली रेडियो नेटवर्कको आठौं वार्षिकोत्सव र संविधानको नवौँ वर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले पार्टीहरुमा लोकतन्त्रप्रतिको उदासिनता देखिएको अवस्थामा बहसको आवश्यकता रहेको बताए।

अहिले दर्शन र सिद्धान्तको कुरा गर्दा मान्छेहरु कुनै ध्यान नदिने र सम्पूर्ण कुराहरु व्यापारमा केन्द्रित भइसकेको कारण डरलाग्दो स्थिति सिर्जना भएको उनको भनाई छ।

उनले भने, ‘यति राम्रो संविधान, यति धेरै मेहेनत गरेर निर्माण भएको संविधान छ। तर पार्टीहरुमा लोकतन्त्रप्रति उदासिनता छन्। विचारको बहस छैन। अहिले दर्शन र सिद्धान्तको कुरा गर्दा मान्छेहरु कुनै ध्यान दिँदैनन्। सम्पूर्ण कुराहरु व्यापारमा केन्द्रित भइसकेको छ। त्यसकारण डरलाग्दो स्थिति सिर्जना भएको छ।’

उनले संविधानलाई सफल रुपमा कार्यान्वयन गर्दै संविधानमा भएका दार्शनिक पक्ष र मार्गनिर्देशनलाई हाइलाइट गर्दै विश्वको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिए। विश्व दृष्टिकोणप्रति पनिसचेत हुँदै राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनको भनाई छ।

‘हामीले धेरै छलफल गरेर बनाएको संविधानमा संवैधानिक मूल्य मान्यताका सबै आयामहरु समेटिएका छन्। त्यतिमात्र होइन, संविधानमा लोकतन्त्रका मूल्य मान्यता पनि समेटिएका छन्। संविधान महत्वकांक्षी पनि छन्। संविधानमा एउटा छुट्टै दर्शन छ’, उनले भने, ‘संविधानलाई सफल रुपमा कार्यान्वयन गर्दै भएका दार्शनिक पक्ष र मार्ग निर्देशनलाई हाइलाइट गर्दै विश्वको ध्यान आकर्षित गर्नुपर्दछ। विश्व दृष्टिकोणप्रति पनि सचेत हुनुपर्दछ। विश्व दृष्टिकोणबाट सचेत हुँदै राष्ट्रिय दृष्टिकोण बनाउनुपर्दछ। लोकतान्त्रिक विचारधारामा हामीले बहस नै गरेनौँ।’ 

प्रकाशित मिति: : 2024-09-19 15:24:00

प्रतिकृया दिनुहोस्