विभिन्न राजनीतिक दलका पत्रकार संगठनहरूको घेराबन्दीमा परेपछि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन्।
गत वैशाख २१ र २२ गते काठमाडौंमा भएको महासंघको २७ औं अधिवेशनले निर्वाचन कमिटी बनाएर नयाँ नेतृत्व चुन्ने प्रक्रिया सुरु गरेको थियो। पोखरेल निर्वाचित भएको अघिल्लो (३ वर्षअघि)देखि नेपाल पत्रकार महासंघ पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा गएको थियो। केन्द्रीय पार्षदको व्यवस्था खारेज गरेर सबै साधारण सदस्यहरूले मत हाल्न पाउने व्यवस्थाअनुरुप पोखरेल नेपाल पत्रकार महासंघको पहिलो प्रत्यक्ष निर्वाचित अध्यक्ष हुन्। त्यो बेला सत्ता समिकरणअनुसार देशभरि नेकपा माओवादीको भ्रातृ संगठन प्रेस सेन्टर तथा नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनबीच गठबन्धन भएको थियो।
यसपालि महासंघको निर्वाचन घोषणा गर्ने बेलामा माओवादी र एमालेको सरकार फेरियो। त्यो बेला सदस्यताको विवाद झिकेर नेपाल प्रेस युनियन र एमालेको संगठन प्रेस चौतारीले महासंघमा ताला लगायो। त्यसपछि चुनाव हुन पाएन। फेरि अर्कोपटक चुनावको मिति घोषणा भयो। यो बेलासम्म नेकपा माओवादी सरकार बाहिर भयो। अनि फेरि माओवादी निकट प्रेस सेन्टरले सदस्या विवाद झिकिरहेको छ।
संगठनहरूबीच नमिलेको सदस्य विवादका बीच अध्यक्ष पोखरेलले केही दिनअघि आगामी असोज ५ गते चुनावको मिति घोषणा गरेका थिए। तर संगठनबाट प्रतिनिधित्व गरेका पदाधिकारीहरूलाई पत्रकारका ती संगठनहरूले उक्त घोषणा नमान्न निर्देशन दिए र फेरि पनि चुनाव नहुने अवस्था आयो। खासगरी पत्रकारितालाई सहायक पेशा वा नाम भजाएर अरु नै पेशा गर्दै आएका पत्रकारहरू हटाउन पोखरेलकै पहलमा नेपाल पत्रकार महासंघमा पहिलोपटक सदस्यता शुद्धिकरण अभियान सुरु भएको थियो। यही अभियानअन्तर्गत सबै संगठनका सदस्यहरूको नाम काटिएपछि पोखरेल आफ्नै पदाधिकारीबाट घेराबन्दीमा परेका थिए। र पत्रकारका संगठनहरूलाई पार्टीलाई नै गुहारेर पोखरेललाई एक्ल्याएका थिए।
सोमबार बरिष्ठ उपाध्यक्ष रमेश बिष्टलाई सम्बोधन गर्दै उनले आफ्नो पदबाट राजीनामा दिएका छन्। मोफसलबाट पत्रकारिता गर्दै आएका पोखरेल दुई दशकभन्दा बढी विभिन्न पद तथा मिसनमार्फत महासंघमा सक्रिय छन्।
‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यासूची आफूलाई देखाएर मात्र अघि बढ्नुपर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा झनै मन खिन्न हुन गएको छ’ उनले राजीनामा पत्रमा भनेका छन् ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोबिज्ञान बोकेर यो निर्वाचन सम्पन्न गर्न समर्थ छैन। यी सबै अवस्था आउनुमा मेरो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी समेत बहन गर्दछु।’