भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले छाडे देश, पुगे स्पेनको शरणमा

भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेका छन्। गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएका हुन्।

भेनेजुएला छोड्नुअघि गोन्जालेज धेरै हप्तासम्म कराकसको स्पेनी दूतावासमा लुकेका थिए। जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएको छ। यस चुनावी नतिजामा निकोलस मदुरो विजयी घोषित भएका थिए।

चुनावमा धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेका गोन्जालेजलाई पक्राउ गर्नसमेत अदालतले आदेश दिएको थियो। स्पेन पुगेपछि गोन्जालेजले अडियो सन्देश जारी गर्दै लोकतन्त्र र जनताको  स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने बताएका छन्।

गोन्जालेज स्पेन जानुअघि उनको गिरफ्तारीको वारेन्ट पनि जारी गरिएको थियो। उनीमाथि सरकारविरुद्ध षड्यन्त्र र अन्य गम्भीर आरोप लगाइएको थियो।

भेनेजुएलाका विपक्षी नेता मारिया कोरिनाले सामाजिक सञ्जालमा आफ्नो ज्यान खतरामा परेकाले गोन्जालेजले देश छाड्नुपरेको लेखेकी छन्।

प्रकाशित मिति: : 2024-09-09 10:46:00

प्रतिकृया दिनुहोस्